सबैभन्दा बढी कर तिर्ने करदाता र उत्कृष्ट कर्मचारी सम्मानित

सबैभन्दा बढी कर तिर्ने करदाता र उत्कृष्ट कर्मचारी सम्मानित

रोदिक खबर

७, मंसिर २०८१
  • 2.9K
    SHARES
  • सबैभन्दा बढी कर तिर्ने करदाता र उत्कृष्ट कर्मचारी सम्मानित

    खोटाङ। करदाता सेवा कार्यालय खोटाङले सबैभन्दा बढी मूल्य अभिबृद्धि कर र आयकर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ।

    शुक्रबार दिक्तेलस्थित उद्योग वाणिज्य संघको कार्यालयमा १३ औं राष्ट्रिय कर दिवसको समापन कार्यक्रममा हलेसी आयल ट्रेड एण्ड सप्लायर्स र दिक्तेल अंग्रेजी आवासीय विद्यालयलाई सम्मान गरेको हो ।

    आर्थिक वर्ष २०७९/०८० मा ५० करोड बढीको कारोवार गर्ने हलेसी आयलले १८ लाख ५१ हजार ५८२ रुपैयाँ र दिक्तेल अंग्रेजी  आवासीय विद्यालयले १४ लाख २२ हजार ६३१ रुपैयाँ कर दाखिला गरेका थिए ।

    पूर्व सांसद कूलप्रसाद फुयल र कर अधिकृत रितिशा गौतमले हलेसी आयल ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर महेन्द्र राई र दिक्तेल अंग्र्रेजी आवासीय विद्यालयका प्रधानाध्यापक धनकर्ण श्रेष्ठलाई सम्मान प्रदान गरेर सम्मान गरेका छन् ।

    यस्तै, कर प्रशासनमा रही उल्लेखनीय एवंम् प्रशंसानीय कार्य सम्पादन गरेकामा सोही कार्यालयमा कार्यरत नायब सुब्बा नेत्र प्रसाद बास्तोलालाई नगद पाँच हजारसहित सम्मान गरिएको छ ।

    समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्ट, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्य, नेपाल पत्रकार महासङ खोटाङका अध्यक्ष दिलीप खत्री,  घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख भेषराज खत्री लगायतको उपस्थिति रहेको खोटाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोद खड्काले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - १७:२१:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको