खोटाङ, ११ मंसिर । खोटाङको खोटेहाङ गाउँपालिकाले ‘एसइइ सपोर्ट’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । एसइइ परीक्षामा अधिकतम विद्यार्थीलाई उत्तिर्ण गराउने लक्ष्यका साथ गाउँपालिकाले ‘एसइइ सपोर्ट’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।
एसइइ परीक्षाको नतिजा सुधारका लागि अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालनका लागि १८ लाख बिनियोजन गरिएको शिक्षा शाखा प्रमुख राजकुमार खड्काले जानकारी दिए ।
नौ वडा रहेको गाउँपालिकामा ११ वटा मावि छन् । हाल त्यी माबिमा ३५३ विद्यार्थीले एसइइको तयारी गरिरहेका छन् ।
मंसिर ९ गते बसेको शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यपकहरुको संयुक्त बैठकले एसइइको अतिरिक्त कक्षा सञ्चालनका लागि विद्यार्थी संख्याको आधारमा विद्यालयको खातामा रकम जम्मा गरिदिने निर्णय गरेको छ ।
विद्यालयलाई आफ्नो अनुकुलमा अतिरिक्त कक्षा सञ्चालन गर्ने जिम्मा दिइएको छ । अतिरिक्त कक्षामा सबै विद्यार्थीलाई अनिवार्य उपस्थित गराउनुपर्ने शिक्षा शाखा प्रमुख खड्काको भनाई छ ।
‘एसइइ सपोर्ट’ कार्यक्रमको प्रभावकारिताका वारेमा गाउँपालिकाले नियमित अनुगमन गर्ने छ ।
शिक्षा बिकासको मेरुदण्ड भएकाले शैक्षिक विकासमा दिलो ज्यान दिएर लागिपरेको गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए ।
शैक्षिक सुधारका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने गाउँपालिका उपाध्यक्ष रुपेश राईले जोड दिए ।
यस्तै, हालसम्म कक्षा ८ को पालिका स्तरीय परीक्षा सञ्चालन गर्दै आएको खोटेहाङ गाउँपालिकाले यस वर्षदेखि कक्षा ५ को पनि पालिका स्तरिय कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
उक्त परीक्षाका लागि पारिश्रमिक सहित केन्द्राध्यक्ष खटाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । आगामी दिनमा तोकिएको उपलव्धी हासिल गर्न नसक्ने विद्यालय तथा विषय शिक्षकले गाउँपालिका समक्ष स्पष्टीकरण दिनुपर्ने भएको छ ।
यस्तै, हरेक बिषय र बिधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने बिद्यालय, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विव्यास पदाधिकारीहरुलाई दिइदैआएको पुरस्कारलाई निरन्तरता दिने विद्यालय श्रोत निरिक्षक मानबहादुर खत्रीले बताए ।