खोटाङ । साहित्यकार हृदयचन्द्रसिं प्रधानद्वारा रचित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक दिक्तेलमा मञ्चन गरिने भएको छ । खोटाङ संगीत कला घर र ओजस थिएटरको सहकार्यमा दिक्तेलको समिक्षालय हलमा आगामी पौष १ गतेदेखि ३ गतेसम्म नाटक ‘एक चिहान’ मञ्चन गरिने भएको हो ।
मंसिर २६ गते दिक्तेलको यल्लो हाउसमा पत्रकार सम्मेलन गर्दै खोटाङ संगीत कला घरका सल्लाहकार ज्ञानेन्द्र कमेडियनले दैनिक तीन शो नाटक देखाउने तयारी गरिएको जानकारी दिए । उक्त नाटक विशेष गरी विद्यार्थीलाई लक्ष्य गरेर मञ्चन गर्न लागिएको जनाइएको छ ।
दैनिक बिहान ८ बजे पहिलो सो, बिहान १२ बजे दोश्रो सो र दिउँसो ४ बजे तेश्रो सो नाटक देखाउने व्यवस्था मिलाइएको छ । नाटक करिब १ घन्टा ४५ मिनेटको रहेको खोटाङ संगीत कला घरका सल्लाहकार कमेडियनले बताए । नाटक हेर्नका लागि टिकट दर न्यूनतम एक सय ५० देखि पाँच सय सम्म तोकिएको छ । नाटकमा ओजस थिएटरका कलाकारहरुले आफ्नो कला र क्षमता देखाउनेछन् । नाटक प्रदर्शन कार्यक्रम गर्न करिब पाँच लाख खर्च हुने खोटाङ संगीत कला घरले जनाएको छ ।
एचबी मगरले नाट्य रुपान्तरण गरेको ‘एक चिहान’ मा रविन दोङको निर्देशन र सुजन आचार्यको सह–निर्देशन रहेको छ । सुजन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हुन् । उनकै पहलमा दिक्तेलमा ‘एक चिहान’ नाटक देखाउने व्यवस्था गरिएको हो ।
पत्रकार सम्मेलनमा ओजस थिएटरका अध्यक्ष सागर कार्की, मेनेजर राजु खतिवडा, नाटकका सह–निर्देशक सुजन, हास्य टेरिसिरियल ‘सक्कि गो नि’ का प्रोडक्सन मेनेजर सुजन गौतम लगायतको उपस्थिति रहेको थियो ।