खोटाङ । दिक्तेलबजारको हाटडाँडादेखि मझुवागढी कालिका भगवती मन्दिर जाने सडक ढलान गर्ने तयारी गरिएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको एक करोड ८५ लाख ६२ हजार नौ सय दुई रुपैयाँमा ६ सय मिटर सडक ढलान गर्नेगरी तयारी गरिएको हो । सडकको चौडाई ५ मिटर हुनेछ ।
उक्त सडकको ठेक्का ममता/पिआर/मोहन एण्ड व्यासीगाउँ जेभी दिक्तेलले पारेको छ । निर्माण कम्पनीले आगामी असार मसान्तसम्म सडक ढलान गर्नेगरी कार्यालयसँग सम्झौता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
सडकको शनिबार प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले हाटडाँडामा शिलान्यास गरेकी हुन् । कच्ची सडक हुँदा दिक्तेलबजारबाट धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी र कालिका भगवती मन्दिर आउँजाउँ गर्न दर्शनार्थी तथा पर्यटकलाई सकस हुँदै आईरहेको छ ।