खोटाङ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले आफूले गरेका एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर भौतिक पूर्वाधार विकास मन्त्री राईले अनुगमनदेखि पुल स्थानान्तरणसम्म प्रगति भएको भन्दै आफ्नो १०० दिने उपलब्धि विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्रालय मातहतका विभिन्न पूर्वाधार विकास कार्यालयहरूबाट सञ्चालन भएका तर अपेक्षित प्रगति हासिल हुन नसकेका आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन साथै सार्वजनिक सुनुवाइ स्थलगत रूपमा गरिएको, पाँच वटा रुग्ण आयोजना निर्माण सुरु भएको, प्रयोग विहीन तथा जीर्ण भएका झोलुंगे पुलहरू स्थानान्तरण गरी आवश्यक स्थानमा निर्माण गर्ने निर्णय गरिएअनुसार त्यस्ता पुलको संख्या यकिन गरिएको, गत असोज १० देखि १२ गतेसम्म निरन्तर परेको वर्षाको कारण क्षति भएका सडक, सडक पुल, र झोलुंगे पुलमा पुगेको क्षतिको विवरण संकलन भएको, प्रदेश सरकारको एक महत्वपूर्ण आयोजना कोशी रिफ्रेसमेन्ट सेन्टरलाई प्रदेश सरकारको बजेटले मात्र सञ्चालन गर्न कठिन हुने भएकोले निजी क्षेत्रलाई हस्तान्तरण गर्न प्रदेश लगानी सम्मेलन २०८१ को आयोजना सोकेसमा राख्ने निर्णय भएको जनाएका छन् ।
यस्तै, मन्त्री पदमा नियुक्त भएपछि मन्त्रालयको यथार्थ अवस्थाको सार्वजनिक गरेका मन्त्री राईले प्रदेश सरकारका रणनीतिक सडक सञ्जाल पहिचान र वर्गीकरणका लागि प्रदेश सार्वजनिक सडक ऐन २०७७ को मापदण्ड अनुसार प्रादेशिक सहायक लोकमार्ग अन्तरगत ९६ वटा सडक (३१६३.५८ किमी) र प्रादेशिक मार्ग २८९ वटा (५८१५.५० किमी) सडक प्रादेशिक सडक सञ्जाल सूचीमा प्रकाशित गरिएको, प्रदेशका केही महत्वपूर्ण सडकहरुमा सडक सुरक्षा कार्यक्रम लागु गर्न सडक पहिचान गरी सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएकोे प्रगति विवरणमा उल्लेख गरिएको छ ।
यस्तै, प्रदेश सरकारको सबैभन्दा लामो सडक पुल खोटाङ जिल्ला जन्तेढुंगा–१ देबिस्थानस्थित बुवाखोला पक्की पुलेको शिलान्यास भएको र हाल सुरुवाती ढलान गरिरहेको, खोटाङको रसुवाघाटदेखि सिम्पानी हुँदै पानधारे कालोपत्रे सडक निर्माण सुरु भएको, सुनसरीको महेन्द्रनगरको बाङ्गेबाट हाल्दिया कालाबन्जर तीन कुने भलुवा चौँरी हुँदै धरान जाने सडक, सुनसरी र धरान १५ नीरज बस्ती हुँदै हाल्दिया पेलपुर ढाडे कन्या पोखरी सडक, धरान उपमहानगरपालिका १, ४, ५, सुनसरी सडकको स्थलगत अनुगमन र निर्णय भई हाल दुवै सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अगाडी बढिरहेको मन्त्री राईले उल्लेख गरेका छन् ।
मन्त्रालयले प्रदेश भवन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को प्रारम्भिक संशोधन मस्यौदा र प्रदेश भवन ऐन २०७६ को तीन महले विवरण तयार गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रायका लागि पेस गरेको जनाएको छ ।
विपदबाट कोशीमा चार अर्ब त्रिसट्ठी करोड बढीको क्षती
मन्त्री राईले यही असोज १० देखि १२ गते सम्म निरन्तर परेको वर्षाको कारण कोशी प्रदेशको भौतिक विकासमा करिब चार अर्ब त्रिसट्ठी करोड पचास लाख बराबरको क्षति भएको उल्लेख गरेका छन् । क्षति भएका सडक, सडक पुल र झोलुङ्गे पुलमा पुगेको क्षतिको विवरण संकलन गर्ने कार्य सम्पन्न भएको उनले बताए ।
वर्षाले पु¥याएको क्षति खोटाङ र उदयपुर जोड्ने दुधकोशी फोक्सिंङटार पक्की पुल, धाप्लांगघाट, बन्सिलाघाट पुल, पाँचथरको हेवा खोला र फेमे खोला पक्की पुल, झापाको बिरिंङ खोला पक्की पुल, लगायतका स्थानमा स्थलगत अनुगमन गरेको मन्त्री राईले उल्लेख गरेका छन् ।