खोटाङ । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा भगवती माबि खोटाङ बजार र सिमपानी माबिले प्रथम स्थान प्राप्त गरेको छ । भगवती माबि खोटाङबजार र सिमपानी माबि सिमपानीले समान १५/१५ अंक ल्याएर राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान प्राप्त गरेको हो ।
भगवती माबिले पाँच स्वर्ण तथा सिमपानी माबिले ३ स्वर्ण, २ कास्य र २ रजत जितेको छ । यस्तै, इन्द्रेणीपोखरी माबि र भानु मावि लिच्कीराम्चेले ९/९ अंक सहित दोश्रो स्थान प्राप्त गरेको छ । इन्द्रेणीपोखरी माबिले ३ कास्य र ३ रजत तथा भानु माबिले १ स्वर्ण, २ कास्य र २ रजत पदक हात पार्न सफल भएका छन् । ४ अंकसहित सावाकाली माबिले चौथो स्थान प्राप्त गरेको छ । सावाकालीले २ कास्य जितेको गाउँपालिकाका विद्यालय श्रोत निरिक्षक मानबहादुर खत्रीले बताए ।
गाउँपालिकाको आर्थिक सहयोगमा भाषा मावि बड्कादियालेले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगीतामा गाउँपालिकाभरीका ११ माविले प्रतिष्पर्धा गरेका थिए ।
राष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान प्राप्त गर्ने भगवती माबि र सिमपानी माबिलाई नगद १ लाख ११ हजार १११ रुपैयाँको साथमा शिल्ड प्रदान गरिएको छ । नगद बराबर बाँडिएको छ भने शिल्ड ६/६ महिना राख्नेगरि दुई विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
राष्ट्रपति रनिङ शिल्डका विजेता विद्यालय र विद्यार्थीलाई गाउँपालिका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ती’, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगीता पुस १९ गते जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका थिए ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभित्र सञ्चालित ११ वटा माध्यमिक विद्यालयका ३३० जना छात्रछात्रा सहभागी भएका थिए । प्रतियोगितामा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि खाना तथा खाजाको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले पाँच लाख तथा राष्ट्रिय खेलकुद परिषद्ले एक लाख उपलब्ध गराएको प्रतियोगिताका शिक्षा शाखा प्रमुख राजकुमार खड्काले जानकारी दिए ।
नौँ वटा वडा रहेको उक्त गाउँपालिकामा यसअघि महेन्द्रोद्धय माध्यमिक विद्यालय वाप्लुखाले पाँचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो । पालिकास्तरीय प्रतियोगितामा छनौट भएकाहरु जिल्ला हुँदै प्रदेश तथा संघमा समेत सहभागी हुन पाउँछन् ।