खोटाङ । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएसंगै सिधा यातायात सेवा शुरु भएको छ ।
सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा रहेको फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि विकल्पको रूपमा निर्माण गरिएको अस्थायी बेलिब्रिजको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिवार उद्घाटन गरेसंगै सिधा यातायात सेवा शुरु भएको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए ।
खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ फोक्सिङटार बिचमा पर्ने सुनकोशी नदीमा सिधा यातायात सञ्चालनका एक करोड २९ लाख ४६ हजारको लागतमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पुस १ गतेदेखि बेलिब्रिज जडानको काम सुरु गरेको थियो । ५० मिटर लम्बाई र साढे ३ मिटर चौडाई रहेको बेलिब्रिज निर्माण गरिएको आरएन कन्ट्रक्सन कटारीका प्रोपाईटर रविन्द्रबहादुर खड्काले बताए । ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्नेछ ।
बेलिब्रिज जडानले अस्थायीरुपमा भएपनि खोटाङवासीलाई सुविधा पुग्ने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री राईले बताए । उनले खोटाङवासीको मागलाई तत्काल सम्बोधन गरि बेलिब्रिज जडानको काम गर्न निर्देशन दिने प्रधानमन्त्री ओली, प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’ लगायत सरोकारवालालाई धन्यवाद समेत दिए ।
बेलिब्रिज जडान भएसँगै खोटाङबासीलाई तराईका जिल्ला आवतजावत गर्न र दैनिक उपभोग्य वस्तुहरूको ढ्वानी गर्न सहज हुनेछ । फोक्सिङटारमा २०७९ सालमा एक सय २० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयअघिदेखि बर्सेनी अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । तर, दुई वर्ष नबित्दै बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि जिल्लावासीका लागि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।
निर्माण कम्पनीे फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । निर्माणको जिम्मा लिने ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न १० वर्ष कुर्नुपरेको थियो ।