खोटाङको वराहपोखरी गाउँपालिका नयाँ निर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको केन्द्र फाक्टाङस्थित धर्तुङमा निर्माण सम्पन्न सुविधायुक्त भवनको शुक्रबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकास, स्वास्थ्य मन्त्री भुपेन्द्र राईले एक कार्यक्रमका बीच रिवन काटेर उद्घाटन गरेका हुन् ।
संघीय संरचना कार्यान्वयनमा आएपछि विद्यालयको भवनबाट कामकाज थालेको गाउँपालिका अन्ततः सात वर्ष, सात महिनापछि पक्की भवन बनेसंङ्गै नयाँ भवनमा सरेको हो।
२०७४ को स्थानीय तहको निर्वाचनपछि कार्यान्वयनमा आएको गाउँपालिकाले सुरुवातमा जनविकास माध्यमिक विद्यालय साउनेचउरमा कार्यालय खडा गरेर करीव एक वर्ष, त्यसपछि बालकन्या माध्यमिक विद्यालय फाक्टाङ धर्तुङबजारमा कार्यालय व्यवस्थापन गरेर दुई वर्ष सेवा प्रवाह गरेको थियो।
त्यसपछि फाक्टाङको बाघखोरभन्ज्याङमा प्रिफ्याक बोर्डबाट भवन निर्माण गरी करीव पाँच वर्ष सेवा प्रवाह गरेको गाउँपालिका अन्ततः नयाँ भवनमा सरेको हो ।
गाउँपालिकाको ५५ प्रतिशत र संघीय सरकारको ४५ प्रतिशत लगानीमा कूल ६ करोड १० लाख ४५ हजार ६९४ रुपैयाँ २६ पैसामा कौशिल बस्नेत निर्माण सेवा प्रालि काठमाण्डौले नियम अनुसार म्याद थप गरेर गत मंसिर ३० गते भवन निर्माण सम्पन्न गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीले जानकारी दिए ।
संघीय सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत बजेट लगानी गर्ने भनिए पनि गाउँपालिकाले १५ प्रतिशत बढी लगानी गरेर भवन बनाएको हो।
४२६.२ वर्ग मिटरमा बनेको चारतले भवनको भुईतला र पहिलो तलामा ६/६ कोठा, दोश्रो तलामा ७ कोठा र तेश्रो (टप) तलामा सभाहलसहित तीन कोठा रहेको गाउँपालिकाका इन्जिनियर हिमाल कार्कीले बताए। कार्कीका अनुसार सबै तलामा महिला पुरुषको छुट्टा छुट्टै शौचालय छन्।
आर्थिक वर्ष २०७७/०७८ मा टेण्डर आव्हान भई २०७८ कात्र्तिक ७ गते गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भई काम सुरु गरिएको थियो।
वराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राई, जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राई, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य लोकेन्द्र राई, नेपाल महिला संघ केन्द्रीय सदस्य सरिता आङ्दाम्बे लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।