राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङ स्कूललाई

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङ स्कूललाई

रोदिक खबर

१४, माघ २०८१
  • 2.2K
    SHARES
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल बोर्डिङ स्कूललाई

     खोटाङ, १४ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपािलकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल ईङ्गिलस बोर्डिङ स्कूल दिक्तेलले जितेको छ । नगरपालिकाभित्र सञ्चालित २४ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा १८ स्वर्ण, १८ रजत र १९ कास्य पदकसहित दिक्तेल बोर्डिङ स्कूल दिक्तेलले उपाधि जितेको हो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय दिक्तेल द्वितीय भएको छ । उसले १० स्वर्ण, १० रजत र ११ कास्य पदकसहित द्धितीय स्थान प्राप्त गरेको हो । चार दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा ९ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित जनजागृति आवासीय विद्यालय सोल्मा तृतीय तथा ५ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित श्रीमाध्यमिक विद्यालय बाँसबोटे लफ्याङ चौथो भएको छ ।

    भलिबल, एथलेटिक्स, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो गरि पाँच विद्या तथा ४९ इभेन्टमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलले तीन स्वर्ण, एक रजत र सात कास्य पदकसहित पाँचौँ स्थान हाँसिल गरेको छ ।

    नगरपािकाको आयोजना तथा जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माको सहआयोजनामा सञ्चालित प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७८ कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितामा ६३२ जना विद्यार्थीले सहभागिता जनाएको सहआयोजक जनजागृति आवासीय माध्यमिक विद्यालय सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईले जानकारी दिए ।

    प्रतियोगिताको उपाधि जित्न सफल विद्यालयलाई नगद २१ हजार १११ को साथमा रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । प्रतियोगिताका उपविजेता तथा विद्यागत प्रतियोगिताका विजयी विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका उपाधि विजेता विद्यालय तथा खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको औपचारिक उद्घाटन यही माघ–११ गते कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ ले ब्यानरसहितको बेलुन उडाएर गरेका थिए ।

    तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि नगरपालिकाले दश लाख उपलब्ध गराएको नगरपालिकाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिए । प्रतियोगितामा सहभागी सबै विद्यालयलाई खेल सामग्री तथा यातायात भाडा बापतको रकम उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

    प्रतियोगिता उद्घाटन तथा समापन कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाँकी तथा खेल कौशल प्रस्तुत गरिएको थियो । माटीकोरे खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खेलकुद महोत्सवको झल्को दिएको थियो ।

    अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीले नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीले प्रदेश तथा राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

    नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहले धमाधम पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिरहेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने नवौँ जिल्लास्तरीय प्रतियोगिताको मिति भने, अहिलेसम्म टुङ्गो लागेको छैन ।

    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - २१:२१:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको