खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुल्ला बाँसुरी बादन प्रतियोगितामा कैलाश राई प्रथम भएका छन् ।
सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा बुधबार सम्पन्न प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राई १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन् ।बाँसुरी बादनमा प्रथम भएका राईले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोश्रो, सिन्धुपाल्चोक मेलम्चीका संगीत लामा तेश्रो तथा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो भएका छन् । उनीहरुले क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाण पत्र पाएका छन् ।
वरिष्ठ बाँसुरी बादक नगेन्द्र विक्रम राई, भलाकाजी राई र नविन संघर्ष राई बाँसुरी वादन प्रतियोगिताको निर्णायक थिए। १४ जनाले बाँसुरी वादन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।
नगरपालिकाले आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म दिक्तेलमा गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा बाँसुरी बादन प्रतियोगिता गराएको हो। प्रतियोगितामा वरिष्ठ बाँसुरी बादक नगेन्द्र विक्रम राईले बाँसुरी बजाएर सोलो प्रस्तुती दिएका थिए ।
यसैबीच, बाँसुरी वादन प्रतियोगिताकै अवसरमा गरिएको विद्यालय स्तरीय गायन/बादन प्रतियोगितामा जालपा मावि जालपा प्रथम, ज्योति मावि जालपा दोश्रो, सरस्वती मावि दिक्तेल तेश्रो, दिक्तेल अंग्रेजी आवासीय विद्यालय चौथो भएका छन् ।
उक्त विद्यालयहरुले क्रमशः २५ हजार, २० हजार, १५ हजार र ५ हजार तथा चौथो नै भएको जालपा मावि नुनथलाले ३ हजार र जगदम्बा मावि बुईपाले २ हजार पुरस्कार पाएका छन् ।
जगदम्बा मावि बुईपाका शिक्षक राजन कुमार बास्तोलाको रचना उत्कृष्ट भएको छ । उनले ५ हजार तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अनिल कुमार राईको उत्कृष्ट संगीतले ५ हजार पुरस्कार प्राप्त गरेको छ ।
विद्यालय स्तरीय गायन/बादन प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएको थियो। केशव कार्की, नरेन्द्र निर्विकार, नविन संघर्ष राई, नगेन्द्र विक्रम राई र भलाकाजी राई गायन/बादन प्रतियोगितामा निर्णायक थिए। विजयी बाँसुरी बादक तथा विजयी विद्यालयहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गरेका थिए ।