साकेला/साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी राधाकृष्ण मावि बाँझेच्यानडाँडाले चुमेको छ ।
गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयबीच गत बुधबारदेखि गराईएको प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ काँस्य पदक सहित राधाकृष्ण मावि प्रथम भएको हो ।
साकेला गाउँपालिका-१ बाझेच्यानडाँडा सञ्चालित प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ४ काँस्य पदक जित्दै साकेला माध्यमिक विद्यालय दोश्रो भएको छ भने ५ स्वर्ण, ६ रजत र ७ काँस्य पदक जित्दै बालबालिका माध्यमिक विद्यालय मात्तिम नौलाखर्क तेश्रो हुन सफल भएको छ ।
राधाकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ १६ गते बुधबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ३ काँस्य पदक जितेर सरस्वती मावि मात्तिमबिर्ता चौथो, २ स्वर्ण, ५ रजत र ४ काँस्य पदक जितेको सिद्देश्वरी मावि खिदिमा पाँचौ र यसै वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएको चण्डेश्वरी माध्यमिक विद्यालय डाँडागाउँ १ काँस्य पदक जितेर छैठौं हुन सफल भएको छ ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, वडा नम्बर १ का वडाअध्यक्ष हेमन राई र शिक्षा युवा तथा खेलकुद शाखा संयोजक कविराज राईले विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
सहभागि विद्यालय तथा खेलाडीलाई बधाई ज्ञापन गर्ने क्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकाय सम्म पुर्याउन प्रतिवद्ध भएको बताए ।
अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन प्रतिवद्ध भएको र खेलाडीहरुले आफ्नो विद्यालयको मात्र नभई समग्र पालिकाको प्रतिष्ठाको लागि खेल खेल्न आग्रह गरे ।
प्रतियोगितामा भलिवल, हाईजम्प, लङजम्प, सटफुट, ज्याभलिङ थ्रो, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र/छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय राधाकृष्ण माविका प्रअ हिराधन गुरुङले जानकारी दिए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन।