खोटाङ । खोटाङका झन्डै १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका ९ हजार ९९५ जना किशोरीलाई यो खोप लगाउन लागिएको हो ।
जिल्ला खोप समन्वय समिति, संचारकर्मी तथा सरोकारवालाहरुसंग आइतबार दिक्तेलमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी गराइएको हो ।
माघ २२ देखि २७ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा जिल्लाका १० पालिकाका २७४ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिए ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमख चौलागाईंले जानकारी दिए । उनका अनुसार खोप केन्द्रमा २७४ जना खोपदिने स्वास्थ्यकर्मी, ५४८ जना स्वयंसेवक र १०१ जना सुपरिवेक्षण परिचालन गरिने छ ।
जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलागढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावावेसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माघ २२ गतेदेखि २६ गतेसम्म खोप संचालन गरिनेछ ।
यस्तै, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा माघ २३ गतेदेखि २७ गतेसम्म खोप संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको र विद्यालयबाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन स्वस्थ्य संस्थामा खोप लगाइने जनाइएको छ ।