खोटाङ । खोटाङमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप दिन सुरु गरिएको छ।कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने सबै किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई खोप दिन सुरु गरिएको हो।
माघ २२ गते दिक्तेलस्थित सरस्वती माविमा जिल्ला खोप समन्वय समिति संयोजक सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईले खोप दिने स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप अभियान शुभारम्भ गर्नुभएको छ।
खोटाङमा दुई चरणमा एचपिभी खोप दिईनेछ। माघ २२ गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ हजार ५०२ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ हजार ४८७ जना, केपिलासगढी गाउँपालिकामा ७९३ जना, ऐसेलुखर्क गाउँपालिकामा ६८१ जना, रावाबेंशी गाउँपालिकामा ५७१ जना, साकेला गाउँपालिकामा ४१२ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १ हजार ६३ जना किशोरीलाई खोप लगाईने छ।
यस्तै, माघ २३ गतेदेखि खोटेहाङ गाउँपालिकामा १ हजार १२ जना, जन्तेढुंगा गाउँपालिकामा ७५९ जना र वराहपोखरी गाउँपालिकामा ७१५ जना किशोरीलाई एचपिभी खोप लगाईनेछ।
कक्षा ६ देखि १० कक्षासम्म अध्यापन हुने १८८ वटा विद्यालयका ८ हजार ३१३ जना र विद्यालय वाहिर रहेका १ हजार ६८२ जनागरी कूल ९ हजार ९९५ जना किशोरीलाई खोप लगाउन, २७४ खोप केन्द्र, २७४ जना खोप दिने स्वास्थ्यकर्मी, ५४८ जना स्वंयमसेवक र १०१ जना सुपरिवेक्षक खटाईएको छ।
असुरक्षित यौन सम्पर्कबाट फैलने एचपिभी अर्थात हयुमन प्यापिलोमा भाइरस विकसित हुँदै जाँदा अन्ततः पाठेघरको मुखको क्यान्सर हुन्छ।
पाठेघरको मुखको क्यान्सर भएमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रुपमा रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महशुस हुने जस्ता लक्षण चिन्हहरु देखापर्दछन्।
एचपिभी खोप नेपालमा प्रयोग गर्नका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको खोप हो। खोप लगाई सकेपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने तर, यस प्रकारका असरहरु केही समयपछि आफै ठीक हुन्छन्।