खोटाङ । खोटाङको दिक्तेलबजारमा मिनि महोत्सव हुने भएको छ। नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव हुने भएको हो।
दिक्तेलको बेसक्यामस्थित जैपुरेडाँडामा शशुल्क सहितको महोत्सव हुने आयोजकले माघ २४ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
महोत्सवमा स्थानीय कृषि मेला प्रदर्शनी, गायन तथा लोक नृत्य, साहित्य तथा कविता वाचन, जिल्लाभरीका खेलाडीमध्ये विद्यागत उत्कृष्ट खेलाडी सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, स्थानीय तथा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ।
रोटे पीङ, मिकी माउस, स्कारपीओ, जम्पिङ, तीरबोट, हात्तीघोडा रेस, घडी चिठ्ठा लगायतका खेल महोत्सवको अर्को आर्कषण रहेको नमुना स्पोर्टस क्लबका पूर्वअध्यक्ष काजीमान राईले जानकारी दिए।
महोत्सवमा बाहिरका व्यापार, व्यवसायीलाई बन्देज गरिनेछ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गरिने, दिक्तेलबजार र यहाँका व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवको रहेको जनाईएको छ।
सबै पक्षलाई समेटेर समग्रमा महोत्सवलाई बहुआयमिक बनाईने लक्ष्य राखिएको मिनी महोत्सव संयोजक राजेन्द्र राईले बताए।
राईका अनुसार १६ दिने महोत्सवमा दुई करोडमाथिको व्यापार व्यवसाय हुने अनुमान गरिएको छ। महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । गायक राजेशपायल राई, शम्भु र्राइ, गायिका एलिना चौहान, बबिना किरातीसहित भ्वाईस अफ नेपालमा प्रतिस्पर्धा गरिरहेका खोटाङका गायकहरुले महोत्सवमा प्रस्तुती दिने क्लबका अध्यक्ष सविन राई विज्ञानले बताएका छन्। हाँस्य कलाकार दीपाश्री निरौलासहितको टीमलाई पनि महोत्सवमा ल्याईने जनाईएको छ।