खोटाङ, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले ल्याएको अध्यादेश संसदबाट कुनै पनि हालतमा पारित नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई दिक्तेल बजारमा सम्बोधन गर्दै नेता श्रेष्ठले अध्यादेशको विषयमा सत्ता पक्षकै नेताहरु असहत रहेको बताएका हुन् ।
नेपाल सरकारका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन भएको समयमा चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा नभएको प्रस्टसमेत पारे ।
“माओवादी केन्द्र जनताको पार्टी हो । जनताको हक, अधिकार र सुविधाका लागि सरकार, सदन र सडकमा लडिरहन्छ”, उनले भने, “माओवादी केन्द्रले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक रुपान्तरणका लागि लडिरहन्छ ।”
नेता श्रेष्ठले माओवादी केन्द्रको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रुपान्तरणमा केन्द्रित रहेको बताए। माओवादी केन्द्र सरकारमा हुँदा देशमा सुशासन कायम गर्ने अभियान थालेको नेता श्रेष्ठले दाबी गरे ।
“हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले देशमा सुशासन कायम गर्न अभियान थालेको थियो । त्यो सरकारमा म उपप्रधान तथा गृहमन्त्री हुँदा धेरै राम्रा कामहरु शुरु गरेका छौँ“, उनले भने, “हामीले गरेको कामले संसारभर प्रशंसा पाइरहेको छ । पूरा कार्यकाल काम गर्न नपाए पनि अहिले शीर ठाडो गरेर हिँड्ने वातावरण सिर्जना भएको छ ।”
दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले अहिलेको सरकार भ्रष्टचारीको संरक्षक बनेको दाबी गरे ।
“जब हामीले भ्रष्टाचारका फायलहरु खोल्न थाल्यौँ । आफ्नो, अर्काको नभनी ठूला नेता तथा कर्मचारीहरुलाई कारबाहीको प्रक्रिया शुरु ग¥यौँ । तब ठूला भनिएका दलहरु अतालिए ।
अनि हाम्रो नेतृत्वमा अगाडि बढिरहेको सरकार ढालियो”, उनले भने , “अहिले ती कामहरु थाँती राखेर आफ्ना नेताहरु जोगाउन वर्तमान सरकार लागिपरेका छन् ।
उनीहरु सुशासन कायम गर्न नभइ भ्रष्टाचार गर्न सरकारमा गएका हुन् ।” माओवादी केन्द्रका नेता तथा कार्यकर्तामा उत्साह बढेको छ”, “विचार, सिद्धान्त, नीति तथा योजनासहित पार्टी अगाडि बढेको छ । देश र जनताको मुक्ति यसै पार्टी (माओवादी केन्द्र)बाट मात्र सम्भव छ ।
जनताको इच्छा, चाहना र उत्साहलाई साकार पार्न नेता तथा कार्यकर्ताहरु सक्रिय हुन जरुरी छ ।” उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यहरु समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धिरेन’ लगायतले सम्बोधन गरेका थिए ।