खोटाङ, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको छ ।
जिल्लाका नागरिकले प्रशासनिक काम गर्दा खेप्दै आएका झमेलालाई सहजीकरण गरेर छिटो तथा सजिलो तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यसहित एमाले नगर कार्यसमितिले दिक्तेलमा सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेको हो ।
दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा स्थापना गरिएको सामाजिक परामर्श सेवा केन्द्र बिना राजनीति जुनसुकै पार्टीसँग आस्था राख्ने नागरिकलाई विशुद्धरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको एमाले नगर समितिका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए ।
“जिल्लास्थित सरकारी कार्यालयमा प्रणालीगत अनविज्ञताका कारण प्रशासनिक काम गर्न आउने सेवाग्राहीले धेरै दुःख पाउने गरेका छन् ।
उनीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन हामीले सामाजिक परामर्श सेवा केन्द्र स्थापना गरेका हौँ”, उनले भने, “परामर्श केन्द्रमा एकजना कर्मचारी नियुक्त गरेर २४ सै घण्टा निःशुल्क सेवा उपलब्ध गराउने योजना छ । हामीले गर्ने यो सेवा विशुद्ध सामाजिक हुनेछ ।”
एमाले नगर कार्यसमितिले स्थापना गरेको सामाजिक परामर्श सेवा केन्द्र आज (शनिबार) एमालेका पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य विशाल भट्टराईले जलन सम्बन्धीका एकजना बिरामीलाई परामर्श दिएर औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।
रावाबेँसी गाउँपालिका–५ दुवेकोलका मोहन श्रेष्ठको घरमा पाँच वर्षदेखि बस्दै आएका नामथर नखुलेका जलनका बिरामी कुमार भनिने व्यक्तिलाई नगद पाँच हजार सहयोगसहित सामाजिक परामर्श दिएर सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।
जलनका बिरामी कुमारको रावाबेँसी गाउँपालिका–१ हरमटारमा सञ्चालित आधारभूत अस्पतालमा उपचार भइरहेको छ । शारीरिक तथा मानसिकरुपमा समस्यामा रहनुभएका कुमार केही दिनअघि मोहनको घरमा गाईभैँसीलाई खोले (कुँडो) पकाउनेक्रममा अगेनामा परेर बिरामी परेका हुन् ।
नेता भट्टराईले रावाबेँसी गाउँपालिकाका प्रमुख फटिककुमार श्रेष्ठ र मोहनलाई फोन गरेर कुमारको स्वास्थ्योपचारमा कमी हुन नदिन आग्रह गरे ।
आधारभूत अस्पतालमा उपचार सम्भव नभएको खण्डमा राजधानी काठमाडौँ लगेर भए पनि कुमारको जीवन रक्षा गर्न गाउँपालिका प्रमुख श्रेष्ठ र मोहनलाई आग्रह गरे ।
एमाले नगर कार्यसमितिले स्थापना गरेको सामाजिक परामर्श सेवा केन्द्र सेवाग्राहीका लागि प्रभावकारी हुने नेताहरुले बताएका छन् ।
परामर्श सेवा केन्द्र उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय समिति सदस्य खगेन्द्र राई, कोशी प्रदेश समितिका उपसचिव देवान राई, प्रदेश सचिवालय सदस्य एवम् अखिल नेपाल महिला सङ्घका केन्द्रीय सचिव विणादेवी राई, निवर्तमान जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल, एमाले खोटाङका जिल्ला उपाध्यक्ष कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।
एमाले नगर कार्यसमितिले स्थापना गरेको सामाजिक परामर्श सेवा केन्द्रमा सेवा लिन आएका सेवाग्राहीलाई जिल्ला तहमा समाधान हुने जिल्लामै र प्रदेश तथा सङ्घीय सरकारसँग सरोकार राख्ने विषयमा प्रदेश तथा सङ्घीय सरकारसमक्ष परामर्श लिएर सेवा उपलब्ध गराइने जनाइएको छ ।
दिक्तेलमा स्थापना गरिएको सामाजिक परामर्श सेवा केन्द्र राज्य संयन्त्रलाई सहयोग गर्दै सेवाग्राहीलाई सहजरुपमा सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको एमाले नगर कार्यसमितिले जनाएको छ ।