खोटाङ, फागुन २५ । त्रि–धार्मिक स्थलमा अवस्थित खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ ।
ऐतिहासिक धार्मिक, एवं पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको नगरपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
११५ औं अन्ताष्ट्रिय नारी दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री प्रकाश शरण महतको हातबाट लोको सार्वजनिक गरिएको हो ।
पूर्व अर्थमन्त्री महतसँगै प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई लगायतले लोगो सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले लोगो निर्माणका लागि सार्वजनकि सूचना निकालिएको थियो । उक्त सूचनाका आधारमा ७ वटा लोगो आएको नगरपालिकाले जनाएको छ । जसमध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका सन्तोष दाहालले बनाएको लोगो छनोट भएको हो ।
नगरपालिकाको १५ औं नगरसभाले लोगो छनोटसँगै स्विकृत गरेको नगर प्रमुख राईले बताईन ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हिन्दु, बौद्ध र किराँत धर्मालम्वीहरुको आस्थाको केन्द्र त्रि–धार्मिक स्थल हलेसी लगायत ऐतिहासिक धार्मिक एवं पुरातात्विक महत्व बोकेका क्षेत्रहरु समेटेर लोगो निर्माण भएको नगरप्रमुख राईले बताईन ।
हलेसी तुवाचुङ नगरपालिका हिमालको काखमा रहेकाले लोगोमा हिमाल पनि समेटिएको नगरप्रमुख राईको भनाइ छ ।