खोटाङ । स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा खोटाङ जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार खोटाङका दुई नगरपालिका र आठ गाउँपालिका मध्ये हलेसी तुवाचुङ पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन २५ गते सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबै भन्दा बढी ६८.५४ नम्बर पाएको छ ।
यस अघिको प्रारम्भिक नतिजामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पहिलो, रावाबेसी गाउँपालिका दोस्रो र हलेसी तुवाचुङ नगरपालिका तेस्रो भएका थिए ।
कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अङ्क माघ ३० गते प्रकाशित गरी सात दिनको समय दिई पुनरवलोकन गर्न सूचना प्रकाशन गरेको थियो । उक्त अवधिमा प्राप्त निवेदनका आधारमा आयोगले अन्तिम नतिजा प्रकाशन गरेको हो ।
दोस्रो भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६७.८८ अङ्क पाएको छ भने रावा बेसी गाउँपालिकाले ६३.८० अङ्क ल्याएर तेस्रो भएको छ ।
यस्तै, जन्तेढुंगा गाउँपालिकाले ५९.०१, बराहपोखरी गाउँपालिकाले ५५.७२, ऐसेलुखर्क गाउँपालिकाले ५२.०९, केपिलासगढी गाउँपालिकाले ४७.६४, साकेला गाउँपालिकाले ४६.०६, खोटेहाङ गाउँपालिका ४२.९२ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ४१.१२ नम्बर पाएका छन् ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।
लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलन, विद्यार्थी भर्ना साथै टिकाउ दर, आयोगले तयार पारेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे नगरेको लगायत सूचकहरू रहेका छन् ।