खोटाङ । पाँचौ अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान च्याम्पियन बनेको छ । सोल्मा स्पोर्ट्स क्लबको आयोजनामा सोल्मा खैलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा खोटाङ फुटबल एकेडेमी(केएफए) लाई ३–० ले हराउँदै हलेसी च्याम्पियन बनेको हो।
सुरुवातबाटै केएफएलाई दबाबमा राखेर खेलेको हलेसीले पहिलो हाफमा दुई र दोश्रो हाफमा केएफए विरुद्ध एक गोल गरेका थिए।
हलेसीका खेलाडी चोयस राईले पहिलो हाफको १९ औं मिनेटमा हेडमार्फत गोल गरेर खाता खोलेका थिए। भुवन श्रेष्ठले अर्को गोल थपे। दोश्रो हाफको २६ औं मिनेटमा हलेसीका मिलन राईले तेश्रो गोल गरेका थिए।
एन्फा मान्यता प्राप्त खोटाङकै पहिलो महिला रेफ्री शशी राईले हलेसीका भुवन श्रेष्ठ र नेल्सन राई तथा केएफएका रोहन परियारलाई पहेंलो कार्ड देखाईन्।
प्रतियोगितामा विजेता बनेको हलेसीले ट्रफी, मेडलसहित १ लाख ३३ हजार ३३३ रुपैयाँ, उपविजेतामा भएको केएफएले ट्रफी, मेडलसहित ७१ हजार १११ रुपैयाँ तथा सेमिफाइनलिष्ट जालपा र आयोजक सोल्माले प्रतिटिम ३५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
हलेसीका भुवन श्रेष्ठले बेष्ट प्लेयरको ५ हजार ५५५ रुपैयाँ विद्यागत पुरस्कार प्राप्त गर्दा बेष्ट गोलकिपर हलेसीका कुशल राई, बेष्ट डिफेण्डर सोल्माका आशिष राई, बेष्ट मिडफिल्डर केएफएका सोइसन राई, हाई स्कोरर केएफएका शैलेन्द्र बजियम, बेष्ट कोच हलेसीका लोकेन्द्र केसी र राइजिङ प्लेयर केएफएका सुलव भुजेल भए। उनीहरुले जनही ३ हजार ३३३ रुपैयाँ प्राप्त गरेका छन्।
विजेता टिम र खेलाडीहरुलाई कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भुपेन्द्र राई, जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, कोशी प्रदेश एन्फा उपाध्यक्ष एवंम् केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले पुरस्कार वितरण गरेका थिए।
पत्रकार चिसाङ शेर्पालाई ५ हजार ५५५ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको सोल्मा स्पोर्ट्स क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए। समापनमा सोल्माका पूर्व निर्वाचित जनप्रतिनिधि, समाजसेवी र समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने २० जनालाई सम्मान गरिएको छ।
समापनमै गायक धनीराम नछुङ, बबिना किराँती र पदम राईले सांगितिक प्रस्तुती दिएका थिए। २४ फागुनबाट सुरु भएको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए।