तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता राई पक्राउ

तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता राई पक्राउ

रोदिक खबर

१८, चैत्र २०८१
  • 13.6K
    SHARES
  • तीनकुनेको हिंसात्मक प्रदर्शनमा रास्वपाका नेता राई पक्राउ

    खोटाङ । काठमाडौँको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेता पक्राउ परेका छन्।

    रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।

    खोटाङको रावाबेसी गाउँपालिका-१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।

    पहिलो पटक उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ। गएको पुस १३ गते भएको राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको जिल्ला अध्यक्षमा राई पराजित भएका थिए।

    दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ। थप व्यक्तिहरु पनि पक्राउ गर्नेक्रम रोकिएको छैन।

    ६३ वर्षका राईलाई अपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

    उनीसहित पक्राउ परेका ४१ जनाले विभिन्न आपराधिक गतिविधि गरेको प्रहरीको आरोप छ।

    पक्राउ पर्ने अन्यमा खोटाङको दिप्रुङ चुइचुम्मा- ३ की भगवती रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन्।

    पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।

    उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए।

    प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ।

    म्याद थपका लागि अदालतसँग अनुमति माग गर्दै प्रहरीले आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरेको दाबी गरेको छ।

    यस्तै सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरुको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील र अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेत तोडफोड र आगजनी गरेको आरोप छ।

    आपराधिक गतिविधि गर्दा घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्‍याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारेको र पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटना घटाएको भन्दै प्रहरीले तीन वटा मुद्दामा अनुसन्धान गर्न अनुमति माग गरेको छ।

    साथै, तीनकुने स्थित एउटा घरमा भित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदा हुँदै संचारकर्मी प्रष्ट रुपमा देखिने गरी रिपोर्टिङ गरिरहेको अवस्थामा आगो लगाई ज्यान लिएको समेत प्रहरीले अदालत समक्ष पेश गरेको छ।

    यी आधारमा उनीहरुमध्ये ११ जनालाई तीन कसुरमा र बाँकी ३० जनालाई दुई वटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ।

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - ०४:४१:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको