खोटाङ, १९ चैत । मोहन बैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले खोटाङमा ‘जनसम्वन्ध विस्तार अभियान’ सुरु गरेको छ । पार्टी र जनतालाई नजिक बनाउनका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीले ‘जनसम्वन्ध विस्तार अभियान’ सुरु गरेको हो ।
स्थायी कमिटि सदस्य रामसिं श्रीस नेतृत्वको टोली नम्बर १ ले खोटाङमा हलेसीबाट चैत १८ गतेदेखि अभियान सुरु गरेको हो । चैत १९ गते दिक्तेलबजारमा कार्यक्रम गरिएको छ । चैत २० गते खोटाङबजारमा ‘जनसम्वन्ध विस्तार अभियान’ सञ्चालन हुने क्रान्तीकारी कम्युनिष्ट पार्टीले जनाएको छ ।
अभियानका क्रममा श्रीस नेतृत्वको टोली पाँचथरबाट ते¥हथुम, धनकुटा, भोजपुर हुँदै खोटाङ आइपुगेको हो । खोटाङको कार्यक्रम सकिएपछि टोली सिराहातर्फ झरेर अभियानमा जुट्ने छन् ।
अभियानका क्रममा नारा जुलुस, कोणसभा, पत्रकार सम्मेलन, जनतासँग भेटघाट तथा अन्तरक्रिया, भित्ते लेखन, पर्चा वितरण लगायतका गतिविधि भइरहेको पार्टीले जनाएको छ ।
गत मंसिरमा सम्पन्न राष्ट्रिय एकता महाधिबेसनले पारित गरेको राजनीतिक प्रतिबेदन, नीति तथा कार्यक्रमलाई जनतामाझ पु¥याउन, जनतासँगको सम्वन्ध मजबुद बनाउन र नयाँ जनवादी क्रान्तिको जग बसाउनका लागि अभियान सुरु गरिएको स्थायी कमिटि सदस्य श्रीसले बताए ।
‘जनसम्वन्ध विस्तार अभियान’ वारे जानकारी दिन क्रान्तीकारी कम्युनिष्ट पार्टीले दिक्तेलमा पत्रकार सम्मेलन गरेको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टीले गत चैत ४ गतेदेखि सुरु गरेको अभियान वैशाख १८ गते समापन हुने छ ।
सो पार्टीका अनुसार टोली नम्बर २ ले झापा, टोली नम्बर ३ ले कञ्चनपुर र टोली नम्बर ४ ले बैतडीबाट अभियान सञ्चालन गरिरहेको छ ।