दिक्तेलमा प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ शुरू

दिक्तेलमा प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ शुरू

रोदिक खबर

१, बैशाख २०८२
  • 4.3K
    SHARES
  • दिक्तेलमा प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ शुरू

    खोटाङ १ बैशाख । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’को अवसर पारेर खोटाङमा ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२ शुरू भएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख–१ र २ गते हुर्लुङमा आयोजना गरेको दुई दिने ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’को सोमबारबाट शुरू भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा शुरू भएको महोत्सवमा नगरपालिकाभित्र बसोवास गर्ने विभिन्न जातजातिका समुदायले आ–आफ्नो संस्कार–संस्कृति झल्किने परम्परागत घर तथा स्टलहरु छुट्टाछुट्टै राखेका छन् ।

    ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’लाई सफल पार्दै विश्वमै लोपोन्मुख रेड पाण्डा र थारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुई दिने महोत्सवको आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

    “महोत्सवस्थलमा रेड पाण्डा तथा थारका विभिन्न चित्रहरु बनाइएको छ । नगरपालिकाभित्र सञ्चालित विभिन्न विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका चित्रहरु महोत्सवमा आकर्षण केन्द्र बनेका छ्न”, नगरप्रमुख भट्टराईले भने, “महोत्सवले नगरपालिकाको पर्यटन प्रवद्र्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

    मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङमा आयोजना भएको महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृति अनुसारका खाना, भेषभूषा, रहनसहन तथा स्थानीय उत्पादन स्टलको रुपमा राखिएको आयोजकले जनाएको छ ।

    स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्वीर तथा भिडियोहरु स्टलको रुपमा प्रदर्शनी गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवम् वडा नं. १० पाथेकाका वडाध्यक्ष मुगाधन राईले जानकारी दिए ।

    किरात उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै आएको मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोट हुँदै बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामाकरण गरिएको छ ।

    मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट शुरु भएको ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत एवम् चर्चित अभिनेता दयाहाङ राईले गरेको आयोजकले जनाएको छ ।

    नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने मुन्दुम ट्रेलसँग नगरपालिकालाई जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’को शुभाराम्भ गरिएको नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए ।

    “करिब तीन दिनको यात्रामा पूरा हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ शुभारम्भ कार्यक्रमको पहिलो दिन (आज) सद्भावनादूत अभिनेता दयाहाङ राईसँगै रुपाकोटमा बास बस्ने योजना बनाएका छौँ ।

    रुपाकोट आफैमा पर्यटकीय क्षेत्र हो”, उनले भने, “समुन्द्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा पर्ने पर्यटकीयस्थल रुपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली श्रृङ्खला, सूर्योदयको दृष्य, तराईका मनोरम फाँटहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।

    ती मनोरम दृष्यहरु अभिनेता दयाहाङ राईसँगै जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय प्रशासनका प्रमुखहरु सहभागी भएर अवलोकन गरिने जनाएको छ ।”

    नगरपालिका क्षेत्रभित्र पाइने लोपोन्मुख जङ्गली जनावर रेडपाण्डा तथा थारको संरक्षण गर्दै त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

    महोत्सवलाई प्रभावकारी बनाउन रेडपाण्डा खोजिका लागि वन क्षेत्रमा निस्किएका नगरपालिकाको टोलीले रेडपाण्डा फेला पार्नुका साथै फोटो तथा भिडियोसमेत खिचेर ल्याएका छन् ।

    विश्वमै दुर्लभ वन्यजन्तुको सूचिमा रहेको रेडपाण्डा तथा थार नगरपालिका क्षेत्रभित्रकै सामुदायिक वनमा फेला परेपछि नगरपालिकाले खुसीयालीसमेत साटासाट गरेको छ ।

    स्थानीयवासीले रेडपाण्डा रहेको जानकारी दिएपछि वडा नं.६ नेर्पाका वडाध्यक्ष माधव राईको नेतृत्वमा गएको टोलीले वडा नं. १० पाथेकास्थित पर्यटकीय क्षेत्रमा पर्ने मेरुङ सामुदायिक वनमा रेडपाण्डा फेला पारेको हो ।

    गत माघमा औपचारिकरुपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

    किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई नेपाल सरकारले १०० पर्यटकीय गन्तव्यको सूचिमा सूचिकृत गरेको छ ।

    मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घ–संस्थाले विभिन्न महोत्सवहरू आयोजना महोत्सव गर्ने तयारी गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ ।

    यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव,महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सव लगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ ।

    दुई जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

    खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।

    पहाडै पहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख १, २०८२ सोमवार - २१:२५:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको