सेनाका न्यौपाने र श्रेष्ठलाई ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि

सेनाका न्यौपाने र श्रेष्ठलाई ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि

रोदिक खबर

२७, बैशाख २०८२
  • 2.7K
    SHARES
  • सेनाका  न्यौपाने र  श्रेष्ठलाई ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि

    खोटाङ । खोटाङको दिक्तेलमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तरगत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जितेका छन् ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको महोत्सवको पहिलो दिन आज (शनिबार) सम्पन्न २१ किलोमिटर लामो हाफ म्याराथनअन्तरगत महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् ।

    महिलातर्फको हाफ म्याराथनमा नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका हुन् ।

    यस्तै, पाँचथरकी पुष्पा शोर्पाले एक घण्टा ३७ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै चौथो, खोटाङकी दीपा बस्नेतले एक घण्टा ४७ मिनेट १३ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, भोजपुरकी रुष्मा राईले एक घण्टा ५० मिनेट २७ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, रणभीम गण मुडे ब्यारेकका अमिसा राईले एक घण्टा ५४ मिनेट ३३ सेकेण्डमा दूरी पार गर्दै सातौँ तथा रणभीम गणकै पिपलसुख राईले एक घण्टा ५४ मिनेट ३४ सेकेण्डमा दूरी पार गर्दै आठौँ भएका हुन् ।

    पुरुषतर्फको हाफ म्याराथनमा पनि नेपाली सेनाकै नरेन्द्रसिं रावतले एक घण्टा नौँ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुशिल शाहीले एक घण्टा नौँ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएका हुन् ।

    नेपाल प्रहरीका अजितकुमार यादवले एक घण्टा ११ मिनेट २३ सेकेण्डमा दूरी पार गर्दै चौथो, तेह्रथुमका सरोज लिम्बूले एक घण्टा १२ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै पाँचौँ, नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा १२ मिनेट ३५ सेकेण्डमा दूरी पार गर्दै छैटौँ, नेपाली सेनाकै कर्णबहादुर रोकामगरले एक घण्टा १२ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै सातौँ तथा केन्याका जोन इकिरु केलाईले एक घण्टा १३ मिनेट २४ सेकेण्डमा दूरी पार गर्दै आठौँ भएका हुन् ।

    खुला महिला/पुरुष हाफ म्याराथनमा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौ, छैटौ र सातौँ हुनेलाई क्रमशः ७७ हजार ७७७, ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    विजयी धावकहरुलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

    महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला/पुरुष हाफ म्याराथनसहित खुला दौड, खुला महिला/पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

    खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो ।

    महोत्सवको चौथो र पाँचौँ दिन (वैशाख–३० र ३१ गते) खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

    जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

    खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद २५ हजार, १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले ६ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।

    यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धितय र सेमिफाइनष्टिले क्रमशः १५ हजार, सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन् ।

    खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले दश हजार, पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः दुई हजार ५०० का दरले नगद पुरस्कार पाउनेछन् । उनीहरुका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

    खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, दश हजार, आठ हजार, सात हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

    महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने जनाइएको छ ।

    महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

    प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - १८:५४:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको