खोटाङ । श्रीमतीले कोदालोको पासो प्रहार गर्दा गम्भीर घाइते भएका खोटाङमा एक ब्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो ।
आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकै बारीमा जोत्ने क्रममा सामान्य विवाद हुँदा श्रीमती रेनुकाले श्रीमान पाँचकर्णलाई कोदालोको पासोले टाँउकोमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताए ।
गम्भीर घाइते पाँचकर्णलाई नगर अस्पताल दुर्छिम उपचारको लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।
उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँचकर्णको शनिबार साँझ मृत्यु भएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।
रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई शनिबार बिहान पक्राउ गरिसकेको छ ।
श्रीमानको हत्या अभियोगमा पक्राउ गरिएको रेनुकालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रले बताए ।