खोटाङ । याङसोला माध्यमिक विद्यालय छोरम्बुको कार्यालय तोडफोड भएको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित याङसोला माविको कार्यालयको ताला फोडेर ल्याप्टप चोरी भएको हो । विद्यालयको कार्यालयको ताला फोडेर दुई वटा ल्याप्टप फुटाएको र एउटा चोरी भएको बताइएको छ ।
शनिबार रातीको समयमा कार्यालयको ताला फुटाएर करिब एक लाख बराबरको नयाँ ल्याप्टप चोरी भएको प्रधानाध्यापक सहरमान राईले बताए । विद्यालयले चलाइरहेको करिब ९०/९० हजार बराबरको दुई वटा ल्याप्टप फुटाएर छाडिएको भेटिएको उनको भनाइ छ ।
एउटा ल्याप्टप पूर्णरुपमा फुटेको छ भने एउटा सामान्य चल्ने अवस्थामा भेटिएको प्रधानाध्यापक राईले बताए । एउटा पुरानो ल्याप्टप भने त्यतिकै छाडिएको छ । कार्यालयको दराज, टेबलहरु तोडफोड गरिएको छ । विद्यालयको करिब २ लाख ५० बराबरको क्षति भएको प्रधानाध्यापक राईले बताए ।
दिप्रुङ चुइचुम्मा प्रहरी चौकी र गाउँपालिकाको शिक्षा शाखाबाट आइतबार तोडफोड भएको विद्यालयको निरीक्षण भएको प्रधानाध्यापक राईले बताए । प्रहरी चौकीमा निवेदनसमेत दिइसकेको उनको भनाइ छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीका अनुसार विद्यालयको कार्यालय केही दिन अघि मात्र नयाँ भवनमा सारिएको थियो । चार वटा कोठा भएको नयाँ भवनको सबै कोठाको ताला फोडिएको छ । कार्यालय रहेको कोठा खोज्नलाई सबै कोठाको ताला फोडेको जस्तो देखिएको उनको भनाइ छ । विद्यालयमा भएको घटनाको विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।