खोटाङ । खोटाङमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि पूर्व राष्ट्रिय विजेता ललितपुरका बद्रिलाल नेपालीले जितेका छन् ।
दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तरगत बुधबार सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालीले जितेका हुन् ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधिसँगै नेपालीले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सुनसरीका हिमाल राई दोश्रो, खोटाङका धिरेन राई तेश्रो, हालका राष्ट्रिय विजेता रौतहटका रुपेश जैशवाल चौथो र सुनसरीका मुहान नर्सिङ श्रेष्ठ पाँचौ भएका छन् ।
दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले आठ हजार र पाँचौले सात हजार पुरस्कार प्राप्त गरेको कार्यक्रमको संयोजनकर्ता जिल्ला बुद्धिचाल संघ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिए ।
यस्तै, झापाका सुमन श्रेष्ठ छैटौ, भोजपुरका प्रदिप राई सातौं, पूर्व राष्ट्रिय विजेता काठमाण्डुका नविन तण्डुकार आठौं, पूर्व राष्ट्रिय विजेता झापाका राजन सुवेदी नवौं र मोरङका उमेश राई दशौं भएका छन् ।
छैटौदेखि दशौसम्मलाई जनही चार हजारका दरले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्था नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले बताए ।
प्रतियोगितामा खोटाङ प्रथम भएका दयन्द्र राईले पाँच हजार, खोटाङ द्धितीय भएका कृष्ण गुरुङले चार हजार, खोटाङ तृतीय भएका खिलराज राईले तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रथम भएका पदम कुमार राईले दुई हजार पाँच सय, वेस्ट भेट्रान्स भएका सुनसरीका चुडामणी कुलुङ राई र वेस्ट अनरेटेड भएका दाङका बेदी सरु मगरले जनही तीन हजार प्राप्त गरेका छन् ।
खोटाङ अण्डर सिक्सटीन प्रथम भएका सुयव सैजुले दुई हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष राईले बताए ।
विजयी खेलाडीहरुलाई बुद्धिचाल महासंघ नेपालका अध्यक्ष हेराकाजी मर्हजन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राई, बुद्धिचाल महासंघका केन्द्रीय उपमहासचिव मोनालिसा खम्बू, प्रदेश अध्यक्ष सुरेन्द्रकुमार राई लगायतले पुस्कार वितरण गरेका थिए ।
वैशाख–२७ गतेबाट सुरु भएको महोत्सव जेठ ४ गते सकिनेछ । महोत्सवको अन्तिम दिन अर्थात् जेठ–४ गते साहित्यिक महोत्सव हुनेछ ।
महोत्सवको पहिलो दिन वैशाख २७ गते खुला महिला÷पुरुष हाफ म्याराथनसहित विभिन्न उमेर समुहको दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
बैशाख ३० गतेदेखि गतेसम्म जिल्ला समन्वय समितिको सभाहलमा बुद्धिचाल र माटिकोरेस्थित बहुउद्देश्य कबर्डहलमा टेवलटेनिस प्रतियोगिता भएको थियो ।