खोटाङ / जिल्लाको सबै भन्दा बढी बेरुजु साकेला गाउँपालिकाको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटाङको साकेला गाउँपालिकाको २.४३ प्रतिशत अर्थात दुई करोड ७१ लाख दुई हजार बेरुजु देखिएको छ ।
खोटाङ जिल्लाको सबैभन्दा कम बेरुजु हुने स्थानीय तह हलेसी तुवाचुङ बनेको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार रहेको हो ।
हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुने स्थानीय तहमा जिल्लाको पहिलो र कोशी प्रदेशको तेस्रो भएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटाङको कम बेरुजु हुने दोस्रो स्थानीय तह ऐसेलुखर्क गाउँपालिका रहेको छ ।
ऐसेलुखर्क गाउँपालिकाको ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार बेरुजु रहेको छ ।
यस्तै, रावा बेसी गाउँपालिकाको ०.७३ प्रतिशत अर्थात ६५ लाख ७६ हजार, केपिलासगढी गाउँपालिकाको ०.४८ अर्थात ७९ लाख ५२ हजार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १.२४ प्रतिशत अर्थात दुई करोड ८५ लाख दुई हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १.०७ प्रतिशत अर्थात एक करोड २२ लाख छ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकामा १.८८ अर्थात एक करोड ५३ लाख ५४ हजार, जन्तेढुंगा गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ४२ लाख ५६ हजार र खोटेहाङ गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको छ ।
अघिल्लो वर्ष भन्दा यो वर्ष खोटाङका सबै स्थानीय तहले बेरुजु रकम घटाएका छन् । हलेसी तुवाचुङ नगरपालिकाले भने हरेक वर्ष बेरुजु रकम घटाउउदै आएको छ ।
यस वर्ष ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार बेरुजु रकम देखिएको नगरपालिकाको अघिल्लो वर्ष ८७ लाख २४ हजार थियो । आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ३३ लाख २६ हजार बेरुजु रहेको थियो ।