१० बुँदे घोषणा–पत्र जारी गर्दै हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक सम्मेलन सम्पन्न

१० बुँदे घोषणा–पत्र जारी गर्दै हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक सम्मेलन सम्पन्न

रोदिक खबर

६, जेठ २०८२
  • 3.8K
    SHARES
  • १० बुँदे घोषणा–पत्र जारी गर्दै हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक सम्मेलन सम्पन्न

     खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शैक्षिक सम्मेलन गरेको छ । सामुदायिक विद्यालयको खस्किदो गुणस्तर वृद्धिका लागि नगरपालिकाले नगरभित्रका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि, विव्यास अध्यक्ष, राजनीतिक दल लगायतलाई सहभागी गराएर मंगलवार वृहत शैक्षिक सम्मेलन गरेको हो ।

    “सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत संस्कारः सार्वजनिक शिक्षा सशक्तिकरण हलेसी विकासको आधार” भन्ने मुल नाराको साथ नगरपालिकाले सार्वजनिक शिक्षाको अवस्थालाई प्रवल, गुणस्तरीय र व्यवहारिक बनाउँदै नगरपालिकालाई देशकै एउटा उत्कृष्ट शैक्षिक गन्तव्यस्थलको रुपमा रुपान्तरण गर्ने विधिको खोजीमा शैक्षिक सम्मेलन गरिएको नगरप्रमुख बिमला राईले बताइन् ।

    ‘भर्खरै सडक आन्दोलनबाट फर्किएका शिक्षकलाई रिफ्रेसमेन्ट गराउने र शिक्षा नै विकासको पहिलो आधार भएकाले नगरपालिकालाई शिक्षाको क्षेत्रमा कस्तो बनाउने भन्ने योजना निर्माणका लागि शैक्षिक सम्मेलन गरिएको हो,’ नगरप्रमुख राईले भनिन्, ‘नगरको शैक्षिक जगतलाई कस्तो ठाउँमा पु¥याउने, के गर्नुपर्ने, कसको दायित्व के हो ? भन्ने विषयमा शैक्षिक रणनीति निर्माणका लागि सम्मेलनको आयोजना गरिएको हो ।’

    नगरप्रमुख राईले सवैको राय, सल्लाह, सुझावका साथ विज्ञहरुको सुझावमा सम्मेलनले नगरको शैक्षिक गुणस्तर बृद्धिका लागि १० बुँदे सार्वजनिक शिक्षा सवलीकरण घोषणा–पत्र जारी गरेको बताईन् ।

    सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले ‘मेरो विद्यालय म आफै बनाउँछु, मेरा सन्तान मेरै कार्यक्षेत्र रहेको सामुदायिक विद्यालयमा पढाउँछु’ भन्ने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने, विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वलाई प्रभावकारी बनाउन नगरपालिकाले विव्यास र प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गर्ने, त्यसपछि प्रधानाध्यपकले आफ्नो विद्यालयका शिक्षक कर्मचारीसँग कार्य सम्पादन करार सम्झौता गर्ने घोषणा–पत्र जारी गरिएको छ ।

    यस्तै, नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा शिक्षक अभावको परिपूर्तिका लागि शिक्षक बैंक स्थापना गर्दै शिक्षकको अभावमा शिक्षण अवरुद्ध नहुने नीति कार्यान्वयनमा ल्याउने, शिक्षालाई सीप, संस्कार र प्रविधिसँग जोड्दै सामुदायिक विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने, विद्यालयहरुलाई आवश्यकता आधारमा कक्षा घटाउने तथा विद्यालय मर्ज गरी आवसीय विद्यालय सञ्चालनमा जोड दिने घोषणा–पत्रमा उल्लेख छ ।

    यस्तै, दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन खपत हुने गरी विद्यालयमा नै दिवा खाजा खुवाउने व्यवस्था मिलाउने, प्रत्येक विद्यालयले शिक्षा सुधारको वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुलाई रैथाने, सीप, कला र उद्यमशीलतासँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक महिनाको अन्तिम शुक्रबार ‘बुक फ्री डे’ कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउने घोषणा–पत्र जारी गरिएको छ । घोषणा–पत्रलाई अक्षरस पालना र कार्यान्वयन गर्न सहभागीले हस्ताक्षर गरेका छन् ।

    नगरपालिकाको शैक्षिक रणनीति निर्माणका लागि आयोजना गरिएको एक दिने शैक्षिक सम्मेलनको शिक्षाविद डा.विद्यानाथ कोईराला र उत्प्रेरण रमन भट्टराईले सहजीकरण गरेका थिए ।

    जिल्ला अदालत खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको प्रमुख अतिथ्यतामा भएको सम्मेलनमा नगरपालिकाका पदाधिकारीहरु, कर्मचारीहरु, शिक्षकका विभिन्न पेशागत संघ संघ/संगठनका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षकहरु, राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।

    प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - २२:१०:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको