खोटाङ, जेठ १० गते । खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिका जोड्ने सावा खेलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजार मझौ र जन्तेढुगा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न पश्चात शनिबार उद्घाटन गरिएको हो ।
प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको सशर्त बजेटबाट निर्माण गरिएको प्रि–स्ट्रेष्ड आरसिसि पुल कोशी प्रदेशका भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।
सावा खेलामा यस अघि झोलुङ्गे पुलको भरमा वारपार गर्नु पर्ने बाध्यता थियो । मोटरेबल पुल निर्माण सम्पन्न पश्चात यात्रुलाई सहज भएको छ ।
सुसम–आदित्य–बिजय निर्माण सेवा उदयपुरले मुल्यअभिबृद्धि कर तथा पिएस सहित ८ करोड २१ लाख ७२ हजार ८९४ मा पुल निर्माणको काम सम्पन्न गरेको हो ।
२०८२ बैसाख १० गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख ११ गते पुलको सम्झौता गरिएको थियो । खोटाङबजार–चिसापानी सडक खण्डमा पर्ने सो पुल प्रादेसिक सडक पुल सहयोग एकाई, इटहरीको प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।
सो स्थानमा पक्की पुल नहुँदा स्थानीय झोलुङ्गे पुलमार्फत खोला वारपार गर्ने गरेका थिए । पक्की पुल बनेपछि खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका स्थानीय लाभान्वित भएका छन् ।
पुल उद्घाटन कार्यक्रममा बराहपोखरी गाउँपालिका अध्यक्ष शलिकराम बन्जारा, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेबी राई, खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राई, जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।