खोटाङ । गणतन्त्र दिवसको अवसरमा खोटाङमा बहुउपयोगी मोसो बाँस वृक्षारोपण गरिएको छ । पहिरो गएको ठाउँमा बहुउपयोगी चाइनिज मोसो बाँस रोपेर गणतन्त्र दिवस मनाइएको हो । मध्यपहाडी राजमार्गमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित छेपेखोलामा गएको पहिरोमा मोसो बाँस रोपिएको हो । पहिरो रोकथामका लागि एक सय ५० वटा मोसो बाँसको विरुवा रोपिएको नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
मोसो बाँस चीनले ‘बेम्बो सट’ ब्राण्डमा टिनमा प्याकिङ गरेर विश्व भरि नै टुसा बिक्री गर्दै आएको छ । बाँसबाट विभिन्न आकर्षक सामग्री निर्माण गरेर पनि बिक्री गर्दै आएको छ । उक्त बहुउपयोगी मोसो बाँसको बिरुवा खोटाङमा पनि ल्याइएको हो ।
लुम्बिनी विश्व शान्ति मञ्च र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा १ हजार ५ सय मोसो बाँसको बिरुवा ल्याइएको नगरपालिकाले जनाएको छ । उक्त बिरुवा माग अनुसार नगरपालिकाका विभिन्न वडाहरुमा पठाइएको नगरप्रमुख भट्टराईले बताए । सोही बिरुवा रोपेर गणतन्त्र दिवस पनि मनाइएको हो ।
जिल्ला समन्वय समितिको नेतृत्वमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्लामा अवस्थित चार वटै सुरुक्षा निकाय लगायत विभिन्न संघ संस्थाको उपस्थितिमा दिक्तेलबजारमा प्रभाफेरि पश्चात सडक सरसफाइ पनि गरिएको छ । दिक्तेल किराँत चोक–अल्छेढुङ्गा सडक सरसफाइ पश्चात सोल्मास्थित छेपेखोला पहिरोमा वृक्षारोपण गरिएको हो ।
गत फागुनमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसलाई प्रवद्र्धन गर्दै नागरिकको आर्थिक स्रोत बाँस बनाउने योजना अघि बढाएको छ । सोही अनुसार बहुउपयोगी मोसो बाँसका विरुवा नगरपालिकामा ल्याइएको नगरप्रमुख भट्टराईले बताए ।
बाँस तथा बाँस जन्य उत्पादनमा अगाडि रहेको चीनले मोसो प्रजातिको बाँसबाट ठूलो आर्थिक लाभ लिइरहेको छ । समुद्री सतहबाट एक देखि दुई हजार मिटर उचाइसम्म मोसो बाँसको खेती गर्न सकिने र अझ राम्रोसँग १५ देखि १८ सय मिटर उचाइ र उत्तरी सेपिलो क्षेत्रमा फस्टाउने जानकारहरु बताउछन् ।
बहु उपयोगी मोसो बाँसको टुसा पनि अत्यन्तै रुचाइन्छ । मोसो बाँस नेपालमा पाइने अन्य बाँस भन्दा फरक रूखजस्तै फैलिँदै जाने गर्छ भने ७५ फिट अग्लो र सिधा आकारमा बढ्ने मोसो बाँस कीराले पनि नखाने बताइन्छ । मोसो बाँसको बिरुवा रोपिदै ।