खोटाङ । खोटाङको दिक्तेलमा संचालित तीन महिने लोकसेवाको तयारी कक्षा समापन गरिएको छ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले फागुन २१ गतेबाट शुरू गरेको नायव सुब्बा र खरिदार पदको तयारी कक्षा जेठ १५ गते समापन भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको चालु आर्थिक वर्षको चार लाख रूपैयाँको बजेटबाट उक्त तयारी कक्षा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
उक्त तयारी कक्षामा ९७ जनाले फारम भरे पनि ३७ जनाले अन्तिमसम्म कक्षा लिएको नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ खोटाङका पूर्व अध्यक्ष उदीम चाम्लिङले बताए।
दिक्तेलबजारको सरस्वती माविमा प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन भएको तयारी कक्षामा खरिदार, नायब सुब्बा, प्रदेश निजामती र स्थानीय सेवाको सहायक चौथो र पाँचौेको तयारी कक्षा सञ्चालन गरिएको आदिवासी जनजाति विद्यार्थी महासंघका जिल्ला अध्यक्ष सोनामहाङ राईले बताए।
कक्षामा सहभागी मध्ये तीन जनालाई पुरस्कृत गरिएको छ । नियमित उपस्थित हुने रोशिका दाहाल, अनुशासितमा केविन ढकाल र नमूना परीक्षामा सबैभन्दा बढी अंक ल्याउने कविता ढुङ्गानालाई पुरस्कृत गरिएको अध्यक्ष राईले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्वा शेर्पा लगायतको उपस्थिती रहेको आयोजकले जनाएको छ ।