खोटाङ । शुभम फाउण्डेसनको एउटा हलमा पञ्च मावि दिक्तेलका छात्रा आर्जु आचार्य र हिमालय मावि सोल्माकी छात्रा सम्झना बिक अगाडि ‘क्ल्याप स्वीच’ राखेर बसिरहेकी थिईन् । छात्रा आचार्य र बिकलाई ताली बजाउँदा बत्ती बल्ने प्रविधिको नमूना देखाउन भ्याइनभ्याइ थियो । सो ‘क्ल्याप स्वीच’ स्वयं छात्रा आचार्य र बिकले तयार पारेकी हुन् ।
यस्तै, हिमालय माविकै छात्रा विप्लव मगर, राजेश बिक र हेखाम राई ‘अटोमेटिक स्ट्रीट लाईट’ बनाएर प्रदर्शनमा बसेका थिए । अवलोकन गर्नेक्रममा जिज्ञासा राख्नेहरुलाई अँध्यारो हुँदा आफै सडक बत्ती बल्ने प्रविधि देखाउन व्यस्त थिए । छात्र आयुष श्रेष्ठको टिम पनि ‘अब्स्ट्याकल अभोइडिङ रोबोट’ अर्थात अगाडिको अवरोध थाहा पाउने रोबोट चलाएर देखाउन तल्लिन थिए ।
असार १ गते शुभम फाउण्डेसनमा विभिन्न विद्यालयका छात्र/छात्रा आ–आफ्नो आविष्कार प्रदर्शन गर्न व्यस्त देखिए । विद्यार्थीले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर वाटर लेबल इन्डिकेटर विथ अलार्म, अटोमेटिक पार्किङ सिस्टम, रिमोट कन्ट्रोल कार, स्मार्ट डस्टिबिन, स्मार्ट इरिगेसनको नमुना तयार पारेर प्रदर्शनमा राखेका थिए ।
यस्तै, रैन ड्रप्स सेन्सर, ड्रोन, स्मार्ट ब्लाइन्ड स्टीक, स्मार्ट होम सिस्टम, थोपा सिँचाई प्रणाली, स्मार्ट वेष्ट एग्रीगेसन डष्टबिन, रोबोटिक्स आर्म र बजर गेम प्रदर्शनमा राखिएको थियो । उनीहरुलाई आफ्नो आविष्कारले गर्ने काम र महत्व वारे वर्णन गरेर सुनाउन भ्याइनभ्याइ थियो ।
शुभम फाउण्डेसनको आयोजनामा जेठ २६ गतेदेखि असार १ गतेसम्म सञ्चालन गरिएको स्टेम एण्ड रोबटिक्स वर्कसपः लर्न, क्रियट, इनोभेटमा सहभागी छात्रछात्राले विभिन्न आविष्कार तयार पारेका हुन् ।
काठमाडौंको द बोटमाइन्डस् रोबोटिक्स टिमको सहजीकरणमा वर्कसप सञ्चालन गरिएको शुभम फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए ।
हप्ता दिनको वर्कसपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका ६ वटा विद्यालयका छात्र/छात्राको सहभागीता रहेको थियो । विद्यार्थीलाई निरन्तर नयाँ–नयाँ आविष्कारमा सहभागी गराउँदै प्रविधि केन्द्र विकास गर्ने लक्ष्य राखिएको फाउण्डेसनका कार्यकारी निर्देशक राईले बताए ।


