खोटाङ । खोटाङको हलेसीका अग्नी पीडित तीन घरपरिवारलाई होटल तथा पर्यटन व्यवसायी संघ खोटाङले राहत रकम प्रदान गरेको छ ।
फागुन ४ गते ग्यास लिक भई आगलागी हुँदा आगलागीमा घर सहित सर्वस्व गुमाएपछि समस्या झेलिरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका तीन घरपरिवारलाई होटल तथा पर्यटन व्यवसायी संघ खोटाङले ३० हजार रकम आइतवार प्रदान गरेको हो ।
होटल तथा पर्यटन व्यवसायी संघ खोटाङका अध्यक्ष जेपी राईका अनुसार संघको पहलमा संकलन भएको उक्त रकम घर पूर्णक्षति भएका ओइराख राईलाई २० हजार तथा घर आंशिक क्षति भएका प्रकाशचन्द्र गिरी र भरणसेर राईलाई पाँच÷पाँच हजार वितरण गरिएको हो ।
पदमशेरको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा लागेको आगोले पुर्णरुपमा घर जल्दा चार करोड, पदमशेरकै बायाँ साइडमा रहेको ओइराखको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाख क्षति भएको थियो ।
दाहिने साइडमा रहेको प्रकाशचन्द्रको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणशेरको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाख गरी कूल ७ करोड ३० लाखको क्षति भएको थियो ।