खोटाङ । ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सभाहलमा मङ्गलबार आयोजित १७ औँ गाउँसभा गाउँपालिका उपप्रमुख राजेश राजभण्डारीले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गरेका हुन् ।
गाउँसभामा वित्तीय समानीकरणतर्फ आठ करोड २३ लाख, सशर्त अनुदान चालुतर्फ २३ करोड २४ लाख, सशर्त अनुदान पूँजीतर्फ ८८ लाख, समपुरक अनुदानतर्फ एक करोड ४० लाख, विशेष अनुदानतर्फ चार करोड १५ लाख बजेट प्रस्तुत गरिएको छ ।
प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षका लागि दुई करोड ७३ लाख ९९ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख राजभण्डारीले जानकारी दिए ।
प्रदेश वित्तीय समानिकरण अनुदानतर्फ ७१ लाख पाँच हजार, सशर्त अनुदान रु ४७ लाख ९४ हजार, सशर्त अनुदान पूँजी १५ लाख, समपुरक अनुदानमा एक करोड ४० लाख र गत वर्षको मौज्दात ५५ लाख रकमलाई समेटेर वार्षिक बजेट बनाइएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक विकासतर्फ ६४ लाख २० हजार, सामाजिक विकासतर्फ एक करोड ९० लाख, पूर्वाधार विकासतर्फ चार करोड १६ लाख, वन, वातावरण र विपद् व्यवस्थापनतर्फ १३ लाख, सुशासन र सङ्गठनात्मक विकासतर्फ पाँच लाख ५० हजारको बजेट प्रस्तुत गरिएको छ ।
गाउँसभामा गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यो गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम ल्याएको हो ।