खोटाङ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ३० लाख ३९ हजार ६५९ बजेट ल्याएको छ ।
गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकामा आगामी आर्थिक वर्ष सङ्घीय सरकार राजश्व बाँडफाँडबाट छ करोड ३२ लाख ५६ हजार ६५९, सङ्घीय सरकार समानीकरणतर्फ छ करोड ८९ लाख, प्रदेश सरकार समानीकरणतर्फ ५८ लाख ९ हजार, सङ्घीय सशर्त अनुदान रु १४ करोड ४ लाख, प्रदेश सशर्त अनुदान ७५ लाख ६५ हजार बजेट प्राप्त हुने उपप्रमुख राईले जानकारी दिईन ।
यस्तै, सङ्घीय सरकार सशर्त अनुदानबाट १३ करोड आठ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट एक करोड ७२ लाख ५९ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ दुई करोड २२ लाख, प्रदेश सरकार समपूरक अनुदान एक करोड ६० लाख, सङ्घीय सरकार विशेष अनुदान एक करोड ५४ लाख, प्रदेश सरकार सवारी कर ४९ लाख ९९ हजार, आन्तरिक स्रोत ३० लाख, बैङ्क मौज्दात एक करोड २५ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त साझेदारी रु १८ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क रु एक लाख ५० हजार र स्थानीय विज्ञापन कर रु दश हजार गाउँपालिकालाई प्राप्त हुने जनाइएको छ ।
गाउँसभाले आगामी वर्षका लागि चालूतर्फ २७ करोड ४७ लाख एक हजार ६५ तथा पूजीगततर्फ ११ करोड ८३ लाख ३८ हजार ९५० विनियोज गरेको छ ।
यस्तै, आर्थिक विकासतर्फ दुई करोड ३२ लाख ५० हजार, सामाजिक विकासतर्फ १९ करोड २३ लाख ४३ हजार ३३५, पूर्वाधार विकासतर्फ आठ करोड ६० लाख ९० हजार १५५, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७८ लाख १५ हजार ६०० र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ आठ करोड ३५ लाख ४१ हजार ५९४ बजेट विनियोजन गरेको छ ।
चालू आर्थिक २०८१/०८२ मा रु ३३ करोड ९५ लाख ६८ हजार ९७८ बजेट विनियोजन हुँदा हालसम्म ३१ करोड ३८ लाख ८६ हजार ६३४ बजेट गाउँपालिकामा आर्थिक शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिए ।
उक्त बजेटमध्ये चालू खर्च १५ करोड ४९ लाख छ हजार ३३६ र पूँजीगततर्फ छ करोड ८१ लाख १५ हजार ५६४ अर्थात २२ करोड ३० लाख २१ हजार ९०० खर्च भएको छ । गाउँसभामा गाउँपालिका प्रमुख रविप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।