खोटाङ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खोटाङमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ ।
प्रदेश सरकारले बाँकी जिल्लाहरुमा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय अनुसार पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयलाई एकीकृत गरी साउन १ गते दिक्तेलस्थित हाँटडाडाँमा पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको हो ।
पूर्वाधार विकास कार्यालयको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका हुन् ।
भौतिक पूर्वाधार विकासमन्त्री राईले नै मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रीपरिषद वैठकमा पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन निर्माण कार्यालयहरुलाई एकीकृत गरी कार्यालय नभएका बाँकी जिल्लाहरुमा कार्यालय राख्ने प्रस्ताव राखेका थिए ।
दिक्तेलमा पूर्वाधारको कार्यालय स्थापना भएपछि अब भने विभिन्न योजना तथा ठेक्काहरुको काम कार्यालयले दिक्तेलबाटै गर्नेछन् ।
खोटाङमा पूर्वाधार विकास कार्यालय नहुँदा शहरी विकासतर्फको काम गर्न ओखलढुंगा र पूर्वाधारतर्फको काम उदयपुर पुगेर गर्नुपर्ने बाध्यता थियो ।
हाँटडाडाँमा घर भाडामा लिएर स्थापना गरिएको कार्यालयले अब नियमित कार्य सम्पादन गर्ने निमित्त कार्यालय प्रमुख ईन्जिनियर ललित कुमार चौधरीले बताए । कार्यालयमा १३ जना कर्मचारीको दरबन्दी रहेको छ।
पूर्वाधार विकास कार्यालयले चालू आर्थिक वर्षमा १ अर्व २ करोड ५८ लाख २५ हजारको योजनाहरु खोटाङमा सञ्चालन गर्नेछ। जिल्लामै पूर्वाधारको कार्यालय स्थापना भएपछि जिल्लाको विकासको गतिले तीव्रता लिने अपेक्षा गरिएको भौतिक पूर्वाधार विकासमन्त्री राईले बताए ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार साहको अध्यक्षतामा भएको कार्यालय उद्घाटनमा मन्त्री राईसहित राज्यमन्त्री भूमि प्रसाद राजवंशी, जिल्ला समन्य समिति खोटाङका प्रमुख सन बहादुर राई, प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरे, पूर्व सांसद कुलप्रसाद फुयल लगायतको उपस्थिति थियो।