थापा लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

थापा लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

रोदिक खबर

१५, श्रावण २०८२
  • 7.8K
    SHARES
  • थापा लाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’

    खोटाङ । खोटाङका रामबिक्रम थापालाई शहीद मनोज जोशी प्रतिभा पुरस्कार प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शिक्षक थापालाई १० हजार राशीको शहीद मनोज जोशी प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

    शहीद मनोज जोशीको ३४ औं स्मृति दिवसको अवशरमा गत विहिबार दिक्तेलको अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले थापालाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

    शहीद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङ घर भई सरस्वती मावि दिक्तेलमा शिक्षण पेशामा कार्यरत थापालाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए ।

    शिक्षण पेशामा प्रवेश गर्नुअघि गाविस सचिव पदमा कार्यरत थापा २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागीरबाट बर्खास्त भएका थिए । 

    शहीद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्लामा साउन १३ गते शहीद मनोजमार्ग सरसफाई, साउन १४ गते वृक्षरोपण तथा जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको थियो ।

    २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।

    तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा ऐक्यवद्धता जनाउँदै सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।

    बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

    लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो । कर्मचारी आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।

    सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)ले मनोज झपेन्द्र स्मृति दिवसकारुपमा मनाउँदै आएको छ ।

    दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २०३० साल असोज २३ गते जन्म भएको थियो ।

    वास्तबिक नाम सर्मेन्द्र भए पनि मनोजका नामले परिचित जोशी अखिल नेपाल जनवादी युवा लिग, इन्द्रेणी साँस्कृतिक समाज तथा अनेरास्वबियुमा आवद्ध थिए । यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीकारुपमा परिचित थिए ।

    प्रतिष्ठानका अध्यक्ष आचार्यको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका प्रमुख राईको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल कर्मचारी संगठन खोटाङका अध्यक्ष राम आचार्य, नेपाल निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष सम्भु तामाङ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य रेखा राई, सहिद परिवारको तर्फबाट समुन्द्र प्रसाद जोशी, सम्पुर्ण राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनबाबु आचार्य, पूर्व सांंसद कुल प्रसाद फुयाल लगायले मन्तव्य राखेका थिए ।

    प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - ०८:२९:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको