खोटाङ। प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्रका ७६ जना कृषकहरु सम्मानित भएका छन्। नगरपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा शुक्रबार सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनमा कोदो दिवस मनाउँदै कृषकहरुलाई सम्मान गरिएको हो।
नगरपालिकाको कृषि विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को मौरी, प्याज र तोरी उत्पादनमा आधारित कार्यक्रमको मापदण्ड र प्रक्रिया पूरा गरेका मौरी मह उत्पादनमा १५ जना, प्याज खेती उत्पादनमा ४४ जना र तोरी खेती उत्पादनमा १७ जना कृषकलाई अविरजात्रा गरी प्रमाण पत्र दिएर सम्मान गरिएको नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले बताए।
जैसीका अनुसार मौरी मह उत्पादन गर्ने कृषकले प्रतिकेजी १५०, प्याज उत्पादन गर्ने कृषकले प्रतिकेजी ५ र तोरी उत्पादन गर्ने कृषकले प्रतिकेजी १५ रुपैयाँका दरले अनुदान रकम पाएका थिए।
यी तीनै खेतीमध्ये १५ वडा रहेको नगरभित्र दिक्तेल सोल्मा लालीका दिनेश तामाङले सबैभन्दा बढी ३२५ केजी मह उत्पादन गरेका थिए।
खाल्लेका कोपिला बस्नेतले सबैभन्दा बढी ३ हजार ३५० केजी प्याज र नेर्पाका दुर्गाप्रसाद पराजुलीले सबैभन्दा बढी १ हजार ५० केजी तोरी उत्पादन गरेका थिए। उनीहरुलाई दोसल्ला ओढाइ प्रमाण पत्र प्रदान गरिएको छ।
नगरपालिकाले मौरी मह उत्पादन कार्यक्रम अन्तर्गत दुई लाख ३१ हजार नौ सय, तोरी उत्पादन कार्यक्रम अन्र्तगत ९८ हजार ५२० र प्याज उत्पादन कार्यक्रम अन्र्तगत ३ लाख ५९ हजार ७७५ रुपैयाँ अनुदान रकम बाँडेका थिए।
कोदो दिवसकै अवसरमा आयोजना गरिएको वक्तित्वकला प्रतियोगितामा सरस्वती मावि दिक्तलकी छात्रा विपासा खनाल प्रथम, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र प्रताप खत्री दोश्रो, शितला मावि खाल्लेकी छात्रा प्रविशा राई तेश्रो र जालपा मावि जालपाका प्रज्वल राई चौथो भएका थिए।
उनीहरुलाई क्रमशः दुई हजार ५००, दुई हजार २५०, दुई हजार र एक हजार ७५० नगद पुरस्कार प्रदान गरिएको छ। उनीहरुलाई जिल्ला समन्वय समिति खोोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले प्रदान गरेका थिए ।
यसैबीच, कोदो दिवसका अवसरमा शुभद्रा मदन फाउण्डेसनले तयार गरेको कोदोको रोटी, कोदोको सेलरोटी कोदोको खीर, कोदोको बिस्कुट, कोदोको केक, कुकिज लगायतका परिकार खुवाईएको थियो।
कोदोमा चामल र मकैभन्दा ३५ गुणा, गहुँमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ भने मकैमा भन्दा ३.७ गुणा, गहुँमा भन्दा १.५ गुणा र चामलमा भन्दा २.३ गुणा बढी फलाम पाइन्छ।