खोटाङ । साउन शुक्ल पूर्णिमाको अवसरमा खोटाङको भुल्केमा शनिबार भब्य साँस्कृतिक मेला लागेको छ । मेला झरी र वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउदै दिनभर धामीहरु नाँचेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भुल्केमा साउन शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष साँस्कृतिक मेला लाग्ने गरेको छ ।
भालुखोलाको शिरमा रहेको धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा यो वर्ष पनि शनिबार भब्य साँस्कृतिक मेला लागेको हो । विशेषगरी भुल्केमा रहेको जलपादेवी भागीरथ गंगाधाममा स्नान गर्न र गुरुको पुजाआजा गर्नका लागि धामी र धामीका आफन्त भुल्के पुग्ने गरेका छन् । भालुखोलामा लाग्ने साँस्कृतिक मेला धामीझाँक्री नाच र गीतका लागि प्रसिद्ध छ ।
साउनको शुरुदेखि गुप्तबास बस्ने धामी झाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन भालुखोलाको शिरमा रहेको धारामा नुहाइधुवाई गरेपछि खुल्ने मान्यता अनुशार जिल्लाका बिभिन्न ठाउँका धामी झाँक्री साउन शुक्ल पूर्णिमाको दिन भुल्के पुग्ने गरेका छन् ।
ढ्यांग्रो र झ्याम्टाको तालमा धामी र उनीहरुका आफन्त ‘सै राजा सै सै, सै रानी सै सै सै सै’ बोलको गीत गाउँदै नाचगान गरेको रमिता हेर्नका लागि समेत स्थानीय मेलामा पुग्ने गरेका छन् ।
झरी र वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउदै दिनभर धामीहरु नाच्ने भुल्केमा बुढापाका, युवा, युवती, केटाकेटीको बाक्लो उपस्थिति रहने गरेको छ । धामी नाच हेर्न, चिसो वाताबरणमा घुमफिर गर्न र पूजाआजा गर्नकालागि पनि भालुखोलामा स्थानीयको भीड लाग्ने गरेको छ ।
परापुर्वकालदेखि नै जलपादेवी भागीरथ गंगाधामको पानीले नुहाई धुवाई गरे रोग कष्ट निको हुने विश्वास रहिआएको स्थानीयको भनाई छ ।
साउन शुक्ल पूर्णिमाको दिन मनोकांक्षा लिएर सो स्थानमा विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गरेका छन् । भालुखोलाका खुला हरिया चौंर पिकनिक थलो समेत बनेको छ । जिल्लाको भुलभुले दुधकुण्ड देउधाम, साप्सुधाप लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा समेत साँस्कृतिक मेला लागेको छ ।