खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

रोदिक खबर

२, भाद्र २०८२
  • 3.5K
    SHARES
  • खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

    खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो ।

    अभियानको पहिलो दिन आज (सोमबार) बिहान दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजि गर्दै नष्ट गरिएको छ ।

    दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ ।

    लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य संघ, होटल व्ववसायी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

    अभियानका क्रममा स्थानीयवासी तथा व्यवसायीलाई डेङ्गुको असर, सर्ने तरिका तथा बच्ने उपायका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईँले जानकारी दिए ।

    स्वास्थ्य कार्यालय खोटाङले सुरु गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्न पत्राचारसमेत गरिएको जनाइएको छ ।

    डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्रि) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

    यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १४ जना बिरामीमा स्क्रबटाइफसका बिरामीसमेत भेटिएको स्वास्थ्य कार्यालय प्रमुख चौलागाईँले जानकारी दिए ।

    डेङ्गु र स्क्रबटाइफसका सङ्क्रमण देखिएका बिरामीमध्ये दुई/दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको जनाइएको छ ।

    स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता भाईरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने जनाइएको छ ।

    स्क्रबटाइफस माइट (किरा)को टोकाइबाट सर्ने र उपचारमा ढिला भएको खण्डमा जोखिमसमेत हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

    प्रकाशित मिति :भाद्र २, २०८२ सोमवार - १९:११:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको