शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत तथा छ जनालाई सम्मान

शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत तथा छ जनालाई सम्मान

रोदिक खबर

५, भाद्र २०८२
  • 7.3K
    SHARES
  • शुभशेर राई स्मृति प्रतिष्ठान’द्धारा दुई शिक्षक र एक विद्यार्थी पुरस्कृत तथा  छ जनालाई सम्मान

    खोटाङ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका दुईजना उत्कृष्ट शिक्षक र एकजना विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गरेका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट आज (बिहीबार) पुरस्कृत तथा सम्मान गरिएको हो ।

    ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘शुभशेर राई जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालय विजयखर्क मालाका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालय दिक्तेलका शिक्षक पदमप्रसाद आचार्य पुरस्कृत भएका छन् ।

    प्रतिष्ठानले स्व. शिक्षक राईको चौथो वार्षिक पुण्यतिथिको अवसर पारेर दिक्तेलमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत श्रेष्ठ र आचार्यलाई जनही नगद २७ हजार ७७७ राशिको पुरस्कार प्रदान गरिएको हो ।

    दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८२’बाट सिद्धेश्वरी आधारभूत विद्यालय मुडेका प्रधानाध्यापक बिन्दा थापा र कालिका माध्यमिक विद्यालय नेर्पाका प्रधानाध्यापक कृष्णबहादुर गुरुङ सम्मानित भएका छन् ।

    IMG-20250821-WA0004.jpgजिल्लाका विभिन्न विद्यालयमा कुसलतापूर्वक शिक्षण सेवा गर्नुका साथै शिक्षकहरुको हक तथा अधिकारका निम्ति सङ्घ/सङ्गठनको नेतृत्वसमेत गरेका थापा र गुरुङलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद खनालले जानकारी दिए ।

    यस्तै, ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान–२०८२’ बाट भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजारका अध्यक्ष अम्बरबहादुर बस्नेत सम्मानित भएका छन् ।

    IMG-20250821-WA0009.jpg हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८२’ बाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित कालिका आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम राई सम्मानित भएका छन् ।

    IMG-20250821-WA0020.jpg यस्तै, ‘शुभशेर राई दीर्घ शिक्षण सेवा सम्मान–२०८२’ बाट देविस्थान आधारभूत विद्यालय बडकादियालेका शिक्षक मेघराज फुयाल सम्मानित भएका छन् भने ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८२’ बाट चम्पावती माध्यमिक विद्यालय बुइपाको कक्षा–१० मा अध्ययनरत छात्रा दिया राई पुरस्कृत भएकी छन् ।

    IMG-20250821-WA0006.jpg हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले घर भई बुइपामा बसेर चम्पावती माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी दियाले सात हजार ७७७ नगदसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।

    पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नेपालका केन्द्रीय महासचिव प्रकाश खनाल, प्रतिष्ठानका अध्यक्ष देवबिक्रम राई लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न शिक्षक सङ्घ/सङ्गठनका प्रमुख तथा प्रतिनिधि, स्व. शिक्षक राईका आफन्त लगायतको उपस्थिति रहेको थियो ।

    स्वर्गीय. शिक्षक राईको जेठा छोरा देवबिक्रम अध्यक्ष रहेको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ गत २०७९ साउन–३० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता गरिएको थियो ।

    वि.स. २००७ भदौ–२५ गते जन्मिएका स्व. शिक्षक राईको वि.स. २०७८ साल भदौ–५ गते बुइपास्थित आफ्नै घरमा निधन भएको हो ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका पूर्व अध्यक्षसमेत रहेका स्व. शिक्षक राईले खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित विणा माध्यमिक विद्यालयबाट शिक्षण सेवा सुरु गरेर जिल्लाका विभिन्न विद्यालयमा सेवा गरेका थिए ।

    चार दशक लामो शिक्षण सेवा गरेर निवृत्त भएपछि गाउँमै बसेर सामाजिक काममा सक्रिय भएका स्वर्गीय शिक्षक राईका दुई छोरा र दुई छोरी छन् ।

    कार्यक्रम समापनको अवसरमा स्वर्गीय शिक्षक राईका परिवारका सदस्यले वार्षिक कमाइको शून्य दशमलव पाँच प्रतिशत जम्मा गर्दा सङ्कलन भएको ८० हजार रकम प्रतिष्ठानलाई उपलब्ध गराएका छन् ।

    चार वर्षअघि स्थापना गरिएको प्रतिष्ठानको चल्ती खातामा आठ लाख बढी जम्मा भएको र उक्त रकमले प्रतिष्ठानको आफ्नै कार्यालय भवन निर्माण गर्ने तयारी गरिएको जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ५, २०८२ बिहिवार - १७:१९:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको