खोटाङ । संस्थागत विद्यालय सरोकार समुह खोटाङले शुक्रबार दिक्तेलबजारमा बस र्यालि गरेको छ ।
निजी विद्यालयलाई ‘गैर–नाफामुलक बनाउने’ वाक्यांश हटाइनुपर्ने माग राख्दै आएको संस्थागत विद्यालय सरोकार समुह खोटाङले दिक्तेलको जिरो प्वइन्टबाट शुरु गरेको बस र्यालि अल्छेढुङ्गा-अस्पताल चोक- नेपाल टेलिकम-त्रिवेणी चोक हुँदै जिरो प्वइन्टमा पुगेर टुंगिएको समुहका संयोजक सागर जोशीले बताए ।
तत्काल समस्या समाधानका लागि वार्तामा नबोलाए भदौ ९ गतेदेखि अनिश्चितकाल विद्यालय बन्द गरिने चेतावनी समेत दिएको छ ।
शिक्षा मन्त्रालयले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा निजी विद्यालयलाई क्रमशः ‘गैर–नाफामुलक बनाइनेछ’ भन्ने वाक्यांश हटाइनुपर्ने माग गरेको हो ।
समुहले विधेयकमा उल्लेखित ‘पूर्ण छात्रबृत्ति’ भन्ने शव्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेका जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रबृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रबृत्ति अन्तरगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने माग रहेको समुहका संयोजक जोशीले बताए ।
आवश्यकताले स्थापना भएका निजी विद्यालय सञ्चालन लागत समेत उठाउन संघर्ष गरिरहनुपरेको परिस्थितिमा यो व्यवस्था अत्यन्तै अव्यवहारिक भएकाले गम्भीर असहमती रहेको जनाइएको छ ।