खोटाङ, १० भदौ । तीजको अवसरमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता गरेको छ ।
हरितालिका तीजको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मंगलवार शुभकामना आदान–प्रदान सहित मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता गरेको हो ।
दिक्तेलको हेलीप्याडमा आयोजना गरिएको प्रतियोगीतामा सरस्वती माबि दिक्तेलकी छात्रा बिपासा खनाल प्रथम, श्रीमाबि बासबोटे लफ्याङकी कविता श्रेष्ठ दोश्रो, चम्पावती माबि विजयखर्ककी रानिशा खनाल तेश्रो तथा पञ्च माबि दिक्तेलकी युनिसा आचार्य र शितला मावि खाल्लेकी प्रनिशा राई सान्त्वना भएका छन् ।
प्रतियोगीतामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिएको छ । विजेता सहभागीलाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले पुरस्कार हस्तान्तरण गरेका थिए ।
हरितालिका तीजको महत्व र हाम्रो भूमिका’ शीर्षक राखिएको प्रतियोगीतामा ११ जनाले भाग लिएकाे जनाइएको छ ।
सहभागी हरेक विद्यार्थीलाई यातायात खर्च स्वरुप पाँच सय प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख इरन राईले बताईन् ।
प्रतियोगिताको निर्णायकमा संविधान सभा सदस्य दुर्गाजयन्ती राई, अधिवक्ता ओमप्रकाश घिमिरे र पूर्व शिक्षक जसराज किराती रहेका थिए ।
सामाजिक विकास समिति संयोजक दानबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य राई, वडाध्यक्ष नवराज राई, दिनेश घिमिरे, जिल्ला समन्वय समिति सदस्य दुर्गाप्रसाद घिमिरे, महिला नेतृ डिल्लीकुमारी आचार्य, कार्यपालिका सदस्यद्वय मिना कार्की र अन्जना बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
बक्तृत्वकला प्रतियोगितासँगै सयौ महिला हेलिप्याडमा भेला भएर तीज मनाएका छन्। तीजका अवसरमा हेलिप्याड तीज गीतले गुन्जयमान भएको थियो भने महिलाहरुले धक फुकाएर नाचेका थिए।