नेपाली कांगेस खोटाङले पछिल्लो पुस्तालाई बुझाउन नसक्नु कम्जोरी भएको बताएको छ । नेपाली कांगेसका जिल्ला कार्य समितिका उपसभापति इवन राईले विज्ञप्ति जारी गर्दै आगामी दिनमा कमजोरी सच्याएर जाने बताएका छन् ।
राईले विज्ञप्तिमा भनेका छन्, जेन–जी पुस्ताले अघि सारेका भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना, र नागरिक स्वतन्त्रतामाथि लगाइएको प्रतिबन्धको अन्त्य जस्ता महत्वपूर्ण मागहरूप्रति नेपाली कांग्रेस खोटाङको प्रारम्भदेखि नै स्पष्ट समर्थन रहेको पुनः स्मरण गराउँछौँ र यो समर्थन आगामी दिनमा पनि यथावत रहनेछ ।
कांग्रेस दशकौं लामो राजनैतिक संघर्ष, त्याग र बलिदानको आधारमा स्थापित लोकतान्त्रिक दल भएको हो । यस क्रममा नेपाली कांग्रेसले दिएको योगदान र कमाएको उपलब्धीहरू सबैका साझा सम्पत्ति हुन् ।
यति कुरा आम नागरिक र अझ पछिल्लो पुस्तालाई बुझाउन नसक्नु हाम्रो कम्जोरी हो । हामी यो कुरा स्वीकार गर्दै हामीबाट भए गरिएका कमजोरीहरुलाई सच्याउने प्रण गर्दछौं-विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नेपालको इतिहास मै रचनात्मक ढङ्गले नविन पुस्ताबाट देशलाई सुशासनको बाटोमा हिँडाउन यो ऐतिहासिक आन्दोलनको रूपमा स्थापित हुँदै गर्दा विभिन्न स्वार्थ समुहले पूर्वतयारीका साथ घुसपैठ गरेर आन्दोलन हिंस्रक हुन पुगि देशले ठुलो जनधनको क्षती व्यहोर्नु परेको छ उपसभापति राईले बताएका छन् ।
उक्त आन्दोलनमा हिंसा भड्काउने र गोलाबारी गरी हिंसालाई अझ बल पु¥याउने पक्षलाई छानबीन गरी कारबाही गर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गर्दछौँ । उनले भनेका छन्, जेन-जी आन्दोलनको दोस्रो दिनको आन्दोलनमा देशभरका सार्वजनिक तथा निजी सम्पत्ति र व्यक्तिहरु माथिको आक्रमण सँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणलाई लोकतान्त्रिक आचरणविपरीत र अत्यन्त निन्दनीय कार्यको रूपमा लिएका छौँ ।
साथै, देशैभर गरिएको उक्त तोडफोड तथा विध्वंसका घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कडा कारबाही गर्न हामी सम्बन्धित निकायसँग माग गर्दछौँ ।
कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धीको रक्षा गर्नु सबै राजनीतिक शक्तिहरूको साझा जिम्मेवारी हो। त्यसैले अबको बाटो संविधानको मर्म र भावना अनुसार तय हुनुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ।
यस सन्दर्भमा, राष्ट्रपतिले संविधानअनुरूपका कदम चालेर आन्दोलनरत पक्ष, सुरक्षा निकाय, राजनीतिक दल तथा आम नागरिक सबैको सहभागिता सुनिश्चित गर्दै समुन्नत नेपाल निर्माणमा जुट्न नेपाली कांग्रेस खोटाङ हार्दिक आग्रह गर्दछ। उपसभापति राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
