तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

रोदिक खबर

२९, भाद्र २०८२
  • 2.2K
    SHARES
  • तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

    अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

    ‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको जिम्मेवारी थपिन सक्छ,’ स्रोतले भन्यो ‘उहाँहरूको पत्र बनिसकेको छ ।’ उनीहरूको शपथ ग्रहण भने भोलिमात्रै हुने बताइएको छ ।

    ‘भोलि बिहान शपथ हुन्छ,’ स्रोतले भन्यो । खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् । उनी पूर्वसचिव पनि हुन् ।

    अर्याल कानुन व्यवसायी हुन् । यसअघि विभिन्न रिट निवेदन र सामाजिक आन्दोलनका कारण उनी चर्चामा थिए । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कानुनी सल्लाहकार बनेर काम गरेका थिए ।

    घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हुन् । उनी केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा बर्खास्तीमा परेका थिए ।

    प्रकाशित मिति :भाद्र २९, २०८२ आइतवार - २२:२५:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको