सुनसरी । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेन जी आन्दोलनका कारण सिर्जित फोहर व्यवस्थापनमा विद्यार्थीहरूले सक्रियता देखाएका छन् । यसै क्रममा विद्यार्थीहरूको एक सङ्गठनले इटहरीमा क्षेत्रमा सरसफाइ गरेको छ ।
'सेभ द अर्थ फ्रम ए टू जेड (एसेज)' नामक विश्वविद्यालयस्तरका विद्यार्थीहरूको सङ्गठनले जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको यातायात व्यवस्था कार्यालय इटहरीको फोहर सफा गरेको हो । सरसफाइमा सङ्गठनमा आबद्ध २५ जना विद्यार्थी सहभागी थिए ।
सङ्गठनमा आबद्ध विद्यार्थी नवीन रानाले जेन जी आन्दोलनपछि देश विषम परिस्थितिमा धकेलिएको र देशलाई यो अवस्थाबाट उकास्न सबैको उत्तिकै दायित्व हुने भन्दै त्यसका लागि आफूहरू सरसफाइमा जुटेको बताए ।
रानाले भने, 'जेन जी आन्दोलनपछि देश युवाको चाहनाअनुसार अघि बढ्ने दिशामा आएको छ, जुन अत्यन्त खुशीको कुरा हो ।
आन्दोलनपछि देश केही सङ्कटको अवस्थामा पुगेको हुनाले हामी सबैको हातेमालो आवश्यक छ । त्यसैअनुरूप हामीले सरसफाइ गरेका हौं ।'
रानाका अनुसार विद्यार्थीहरूको यस सङ्गठनले आपतविपतको घडीमा देशभर नै स्वयंसेवाका कार्यहरू गरेर साथ-सहयोग पुर्याउँदै आएको छ ।
