बिहिवार, कार्तिक १३ गते २०८३

युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

रोदिक खबर

१२, आश्विन २०८२
  • 2.1K
    SHARES
  • युवा समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान’ मार्फत निःशुल्क यातायात सेवा दिने

    खोटाङ । जिल्लामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील युवाको एक समूहले ‘दसैँतिहार, चेलीलाई उपहार अभियान–२०८२’ सञ्चालन गर्ने भएको छ ।

    कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दसैँतिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन युवा समूहले निःशुल्क यातायात सेवा उपलब्ध गराउनेगरी अभियान सञ्चालन गर्ने भएको हो ।

    दसैँको अवसरमा यही असोज–१६ गतेदेखि १९ गतेसम्म तथा तिहारको अवसरमा आगामी कातिक–५ गतेदेखि ७ गते अभियान सञ्चालन गरिने संयोजक सञ्जयकुमार राईले जानकारी दिए ।

    “यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित गत वर्ष दुई चरणमा अभियान सञ्चालन गरेका थियौँ । उसबेला ४१५ जना चेलीले निःशुल्क सेवा लिएका थिए”, उनले भने, “निःशुल्क यातायात सेवा उपलब्ध गराउन सञ्चालन गरिएको अभियानको दोस्रो संस्करण यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिएको छ ।

    यसमा हाम्रो कुनै स्वार्थ छैन । मानवीय सेवाभावले अभियानका क्रममा माइतीघर पु¥याउन तथा माइतीघरबाट कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँछौँ ।

    यस वर्ष सञ्चालन गर्ने अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत २५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी नाम दर्ता गराइसकेका छन् । स्वयंसेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । चार पाङ्ग्रे एउटा गाडीसमेत व्यवस्था गरिएको छ ।”

    मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराइने युवा समूहले दिक्तेलस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

    सरकारी सेवासुविधा लिइरहेकालाई भने आफूहरुले सञ्चालन गरेको अभियानअन्तरगतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमा जनाइएको छ ।

    चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ ।

    अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्थाका तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिए ।

    अभियान अन्तरगतका सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा कोसेली बोक्न पाउने सर्तसमेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

    जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको संयोजक राईले जानकारी दिए ।

    दसैँ र तिहारगरी दुई चरणमा सञ्चालन गरिने अभियानमा स्वस्फुर्त स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहिले सहयोग गर्न सक्ने जनाइएको छ ।

    स्वयंसेवक बन्न चाहने युवाको अनिवार्य सवारी बिलबुक र सवारी चालक अनुमतिपत्र लाइसेन्स हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

    अभियानका लागि जिल्लास्थित १० वटै स्थानीय तहमा संयोजक तोकिएको जनाइएको छ ।

    दुई चरणमा सञ्चालन हुने अभियानको सहसंयोजकमा मौषम कार्की, आर्थिक व्यवस्थापन समितिको संयोजकमा महिला उद्यमी विमला राई, सचिवालय व्यवस्थापकमा अनिशा रम्तेल, अञ्जना आचार्य, रस्मिता आचार्य र खियामा राई रहेका छन् ।

    अभियानका लागि होण्डा मोटरसाइकलको दिक्तेलस्थित आधिकारिक बिक्रेता इकिमा सर्भिस सेन्टर तथा साया मोटरसाइकल वर्कशपले मोटरसाइकल मर्मतमा सहयोग गर्ने भएको जनाइएको छ ।

    युवा समूहले स्वतःस्फूर्त सञ्चालन गर्ने अभियानका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरुसमेत तयार भएको संयोजक राईले जानकारी दिए ।

    युवा समूहले गत वर्ष सञ्चालन अभियानमा जोडिएर सेवा दिने मोटरसाइकल चालकलाई शुभम् फाउण्डेशनले निःशुल्क खाना तथा खाजा गराएको थियो ।

    महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा संस्थाले अभियानका लागि आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

    प्रकाशित मिति :आश्विन १२, २०८२ आइतवार - ०८:०१:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको