बिहिवार, कार्तिक १३ गते २०८३

दिक्तेल नगरपालिकाले कार्तिक १५ गतेभित्र तीन पुस्ते सम्पत्ती विवरण बुझाउन जनप्रतिनिधिलाई पत्र

दिक्तेल नगरपालिकाले कार्तिक १५ गतेभित्र तीन पुस्ते सम्पत्ती विवरण बुझाउन जनप्रतिनिधिलाई पत्र

रोदिक खबर

३१, आश्विन २०८२
  • 2.4K
    SHARES
  • दिक्तेल नगरपालिकाले कार्तिक १५ गतेभित्र तीन पुस्ते सम्पत्ती विवरण बुझाउन जनप्रतिनिधिलाई पत्र

    खोटाङ, ३१ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पूर्व तथा वर्तमान कार्यपालिका सदस्यलाई तीन पुस्ते सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको छ ।

    राज्यकोषबाट सेवासुविधा लिइरहेका राजनीतिकर्मी तथा जनप्रतिनिधिले आफूलाई पारदर्शी बनाउन नसक्दा नैतिक प्रश्न उठिरहेको भन्दै नगरपालिकाले वर्तमान तथा पूर्व कार्यपालिका सदस्यसहित ५५ जनालाई सम्पत्ती विवरण बुझाउन पत्राचार गरेको हो ।

    १५ वडा रहेको नगरपालिकाका २५ जना वर्तमान कार्यपालिका सदस्य र २५ जना पूर्व कार्यपालिका सदस्यलाई सम्पत्ती विवरण बुझाउनका लागि असोज २९ गते पत्राचार गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण खवासले बताए ।

    नगरपालिकाले नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, पूर्व नगरप्रमुख दिपनारायण रिजाल, पूर्व उपप्रमुख बिणादेबी राई लगायतलाई आगामी कात्तिक १५ गतेभित्र सम्पति विवरण उपलब्ध गराउन पत्राचार गरेको छ ।

    वर्तमान तथा पूर्व जनप्रतिनिधिसँगै उनीहरुका सचिवालयका कर्मचारीलाई पनि सम्पत्ती विवरण बुझाउन भनिएको छ । नगरप्रमुख भट्टराईले भने निर्वाचित भएको महिना दिन नपुग्दै पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका थिए ।

    असोज २८ गते बसेको नगरकार्यपालिका बैठकले नगरपालिकाका जनप्रतिनिधिहरुको सम्पति विवरण सार्वजनिक गरी आफूलाई नेपालकै पहिलो पारदर्शी स्थानीय तहको जनप्रतिनिधिको रुपमा परिचित गराउने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार तीन पुस्ते जग्गा, घर, सेयर, सुन, चाँदी, हिरा, मोति, गरगहना, नगद, गाडी, मोटरसाईकल वा अन्य चलअचल सम्पतिको विवरण बुझाउन पत्राचार गरिएको हो ।

    नगरपालिकामा बुझाइएको तीन पुस्ते सम्पति विवरण भविष्यमा तलमाथि भए स्वयं जवाफदेही हुनुपर्ने पत्रमा भनिएको छ । नगरका राष्ट्रसेवक कर्मचारीलाई पनि सम्पत्ती विवरण बुझाउन भनिएको नगरप्रमुख भट्टराईले बताए ।

    प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - २०:५३:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको