खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ स्थित वातिखुम युवा क्लवले आयोजना गरेको साविक वडा स्तरीय भलिबलको उपाधि धितुङ र खिदिमाले जितेका छन । पुरुषतर्फको उपाधि हलेसी तुवाचुङ नगरपालिका-८ धितुङ र महिलातर्फको उपाधि साकेला गाउँपालिका-३ खिदिमा ढाँडेले जितेका हुन ।
कात्तिक १२ गते सम्पन्न सेमिफाइनलको खेलमा धितुङ, खिदिमा र आयोजक दुवै टिम फाइनलमा पुगेका थिए । समय अभावको कारण फाइनल खेल हुन नसकेपछी आयोजकले दुवैतर्फ उपविजेतामा चित्त बुझाएर पाहुना टिमलाई विजेता घोषणा गरेको हो ।
पुरुषतर्फ टेम्मा गोपी र भोजपुर गोगने सेमिफानलिस्ट भएका छन । महिलातर्फ टेम्मा गोपी तेस्रो भएको छ ।
पुरुषतर्फ विजेता र उपविजेताले क्रमश ४० हजार र २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन । सेमिफाइनलिस्ट हुने दुवै टिमले नगद १०/१० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन । महिलातर्फ विजेता, उपविजेता र तेस्रो हुने टिमले क्रमश १५ हजार, १० हजार र ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन ।