खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विद्योदय माध्यमिक विद्यालयमा दुई लाख दुई हजार दुई सय बाईस रुपैयाँको अक्षय कोष खडा गरिएको छ ।
दोर्पा निवासी एवंम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराई, उनकी जीवनसंगीनी कुमारी तथा भाई पर्शुराम र उनकी जीवनसंगीनी कल्पनाले, स्वर्गीय बुवा लक्ष्मीप्रसाद, आमा पद्मकुमारी र दाजु गुणराज भट्टराईको स्मृतिमा “गुण–लक्ष्मी पद्मकुमारी अक्षय कोष २०८२” स्थापना गरिएको हो ।
स्वर्गीय आमा पद्मकुमारी भट्टराईको वार्षिकी(२०८१ कार्तिक १६ गते निधन)को अवसरमा आइतबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष शहरमान राई, प्रधानाध्यापक पेशल आचार्यलाई नगरप्रमुख भट्टराई, उनका भाई पर्शुराम लगायत परिवारले अक्षय कोषका लागि तोकिए बमोजिमको चेक हस्तान्तरण गरेका हुन् ।
सबै परिवारले सोही विद्यालयबाट अध्ययन प्रारम्भ गरेको र विद्यालयमा पढि रहेका भविष्यका पुस्ता विद्यार्थीलाई कुनै न कुनै ढंगबाट शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको नगरप्रमुख भट्टराईले वताए ।
अक्षय कोषबाट आएको ब्याज रकम विद्यालयसँगको सहकार्य र निर्णयबाट पुरस्कार तथा शैक्षिक गतिविधिमा खर्च गरिने छ ।
अक्षय कोषलाई पूर्णता दिन नगरको कार्यविधि र बैंकको नीतिभित्र रहेर सिटीजन बैंक दिक्तेलमा केही दिनभित्रै मुद्दती खाता खोलिने छ ।
२०१६ सालमा स्थापना भएको उक्त विद्यालयको संस्थापक र जग्गादातामध्ये एक वुद्दिजीविको रुपमा नगरप्रमुख भट्टराईका स्वर्गीय बुवा लक्ष्मीप्रसाद थिए । उनी दोर्पाको वडाध्यक्ष पनि बनेका थिए ।
स्वर्गीय आमा र दाजुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विद्यालयलाई सहयोग गर्दै आएका थिए। विद्यालयको जग्गादाताहरुमध्ये सबैभन्दा बढी जग्गा भट्टराई परिवारको रहेको छ ।
भट्टराई परिवारले स्वर्गीय बुबाआमा र दाजुको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गरेर शैक्षिक क्षेत्रमा उल्लेख्य काम गरेको जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले वताए ।